राजनीति

सात दलीय सहमति पछि मधेशमा कांग्रेसका यादव नेतृत्वको नयाँ सरकार

काठमाडौँ । मधेश प्रदेशमा सात दलीय गठबन्धनको समर्थनसहित नेपाली कांग्रेसका संसदीय दल नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई शुक्रबार औपचारिक रूपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि ठूलो दलको हैसियतमा संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए। तर, गत मंसिर १७ गते उनले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस, जसपा, नेपाल जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी गरी सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन्। गठबन्धनले यादवलाई सर्वसम्मत रूपमा नेतृत्वका लागि अघि सारेको थियो।

यसअघि कार्तिक २३ गते राति विवादित रूपमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्च अदालतले मंसिर १५ गते तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। सरकारले विश्वासको मत लिन नसकेपछि संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको मार्ग खुलेको थियो।

नयाँ सरकार गठनसँगै मधेश प्रदेशको राजनीतिक उथलपुथल केही हदसम्म टुंगिएको देखिए पनि आगामी दिनमा सत्ता संयोजन र नीति–कार्यक्रमले प्रदेश राजनीति कतातिर उन्मुख हुन्छ भन्ने कुरामा चासो बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *