राजनीति

महाधिवेशनअघि गुण्डुमा शक्ति–केन्द्रित भेट : ओली–पोखरेलबीच प्रतिनिधिबारे छलफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आसन्न ११औं महाधिवेशनलाई ध्यानमा राखेर भएको यो भेटलाई पार्टीभित्रको उब्रिएको शक्ति–सन्तुलनसँग जोडेर हेर्न थालिएको छ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा सार्वजनिक गरिसकेका पोखरेलले आफ्नै समूहसहित ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका छन्। यसबीच, ओलीले भने उनीलाई सहमतिमा आउन निरन्तर आग्रह गर्दै आएका छन्।

पोखरेलसँगै गुण्डु पुगेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराईलगायतका नेताले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा विभिन्न जिल्लामा देखिएका विवादबारे अध्यक्ष ओलीसँग छलफल गरेका छन्।

पोखरेल पक्षले प्रतिनिधि छनोटमा ओली पक्षधर समूहले ‘एकलौटी’ गरेको आरोप लगाउँदै आएको छ। गुण्डुमा भएको भेटमा पनि त्यही विषय प्रमुख एजेन्डा बनेको बताइन्छ। एक सहभागी नेताका अनुसार, “प्रतिनिधि छनोटमा उत्पन्न विवाद मिलाएर महाधिवेशन प्रक्रियालाई सहज बनाउने आग्रह हामीले अध्यक्षसमक्ष राखेका छौँ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *