काठमाडौं । पछिल्लो राजनीतिक आन्दोलनमा सक्रिय युवाहरू—जेनजी नेता—बीच बढ्दो असहमति र एकताको अभावले समस्या निम्त्याइरहेको छ। विश्लेषकहरूले युवाहरूमा राजनीतिबारे सामान्य जानकारीको कमी देखिएका कारण उनीहरूले शासकीय स्वरूप, निर्वाचन प्रक्रिया र जिम्मेवार नेतृत्वबारे सही दृष्टिकोण नपाएको निष्कर्ष निकालेका छन्।
हालै जमलस्थित एल्लो पगोडा होटलमा आयोजित कार्यक्रममा जेनजी नेताहरूबीच मतभेद देखियो। कार्यक्रममा मिराज ढुंगानालाई स्टेजमा राख्दा लेनिन बिष्ट समूहले विरोध जनाए। बिष्ट समूहको भनाइ थियो—“मिराजले राखेका विचार हाम्रो धारणा अनुरूप छैनन्, त्यसैले उनका भनाइलाई आम जेनजीको विचार मान्न सकिँदैन।” त्यसै समयमा भावना राउतले भने—“हामीले यही संविधानभित्रबाट समाधान खोज्ने र निर्वाचनमार्फत अघि बढ्ने तयारी गरेका छौं।”
राजनीतिक शास्त्रीहरूको अनुसार, युवाहरूले शासकीय स्वरूपलाई केवल ‘सरकार कसरी बनाउने’ मात्र भनेर बुझ्ने गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग राख्दै पनि उनीहरू अन्य देशमा समान व्यवस्था कसरी काम गर्छ भन्ने बुझ्दैनन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहमा देखिएको व्यवहारले पनि राजनीतिक ज्ञानको अभावलाई प्रमाणित गरेको विश्लेषकहरू बताउँछन्। प्रत्यक्ष निर्वाचित हुँदा आएको अधिक दम्भ र आक्रोशपूर्ण व्यवहारले देखाउँछ कि शासकीय प्रणालीमा कमजोरी नभएर व्यक्तिको चिन्तन र व्यवहारमा समस्या छ।
विश्लेषकहरूको निष्कर्ष छ—समस्या शासकीय स्वरूपमा होइन, तर व्यवहार, सोच र राजनीतिक ज्ञानमा छ। नेताहरूले संविधानको अपव्याख्या गर्दै व्यक्तिगत लाभका लागि काम गरे, जसले पछिल्लो पुस्तालाई पनि गलत दृष्टिकोण सिकाइरहेको छ। यसरी नयाँ पुस्तामा राजनीतिक चेतना र संवैधानिक ज्ञान अभावले जेनजी नेताबीच असहमति र टकराव बढाएको देखिएको छ।




