जनकपुरधाम । पार्टी निर्देशन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएकी मधेश प्रदेशकी राप्रपा सांसद कञ्चन बिच्छा अन्ततः पदमुक्त भएकी छन्। राप्रपाले औपचारिक रूपमा बर्खास्त सिफारिस गरेपछि उनको सांसद र मन्त्री दुवै पद अन्त्य भएको हो।
बिच्छाले कात्तिक २४ गते सरोजकुमार यादव नेतृत्वको सरकारले वनमन्त्रीको जिम्मेवारी लिइन। तर पार्टीले सरकार फिर्ता हुन दिएको निर्देशन बेवास्ता गरिरहेपछि राप्रपाले उनलाई स्पष्टीकरण मागेको थियो। उनले कुनै जवाफ नदिएपछि राप्रपाले कडा निर्णय लिँदै साधारण सदस्यतासहित सांसदको पद फिर्ता बोलाउन सिफारिस गर्यो।
कार्यव्यवस्था परामर्श समितिको सहमतिअनुसार बुधबार मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम भएकाले आजै पदमुक्तको सूचना सार्वजनिक गर्न मिलेन। प्रक्रियाअनुसार हाउस कलको दिन यस्तो सूचना टाँस गर्न नपाइने भएकाले औपचारिक सूचना बिहीबारदेखि मात्र टाँस गरिने एक सदस्यले जानकारी दिए।
पार्टीको निर्णय अवज्ञा गर्दै मन्त्री बनेकी बिच्छाको कुनै स्पष्टीकरण नआएपछि राप्रपाको कठोर कदम लागू भएको छ। यससँगै उनी मन्त्रीपद मात्र नभई प्रदेश सभाको सदस्यपदबाट पनि वञ्चित भएकी छन्। राप्रपाको यो निर्णयले मधेश प्रदेशको सत्ता समीकरणमा थप हलचल ल्याएको छ।




