काठमाडौं । आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसले संगठनभित्र उमेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ। केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयपछि पार्टीले सबै संरचनालाई मंसिर मसान्तभित्रै उम्मेदवार सिफारिस गरेर बुझाउन औपचारिक परिपत्र जारी गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विधानअनुसार स्पष्ट प्रक्रिया अपनाएर उम्मेदवारको नाम प्रस्ताव–सिफारिस गर्न निर्देशन गरिएको छ।
विधानअनुसार सिफारिस प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। केन्द्रीय कार्यसमितिको निर्णयमा उल्लेखिएअनुसार— राष्ट्रियसभा निर्वाचनतर्फ विधानको धारा ३२(९क)प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फ धारा ३२(८क)बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवार प्रस्ताव गर्नुपर्नेछ। यसका लागि प्रदेश, जिल्ला हुँदै तल्ला तहका पार्टी संरचनालाई परिपत्र हस्तान्तरण गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले तल्ला निकायबाट सिफारिस मंसिर मसान्तसम्म प्राप्त भएपछि प्रतिनिधिसभा प्रत्यक्ष,समानुपातिक,तथा राष्ट्रियसभा तीनै तहका उम्मेदवारका टिकट एकैपटक वितरण गर्ने तयारी गरेको छ। यसले पार्टीभित्रको चुनावी तयारीलाई ‘समन्वित’ र ‘केन्द्रीयकृत’ बनाउन खोजिएको संकेत दिएको छ। आगामी निर्वाचनलाई ‘निर्णायक चरण’का रूपमा हेर्दै कांग्रेसले समयमै नाम सिफारिस गर्ने र अन्तिम सूची छिट्टै टुंग्याउने रणनीति अख्तियार गरेको छ। विश्लेषकहरू भन्छन्— सिफारिस प्रक्रिया समयमै अगाडि बढाउन गरिएको परिपत्र कांग्रेसले आन्तरिक गुटगत विवाद कम गर्दै संगठनलाई चुनावतर्फ केन्द्रित गराउने संकेत हो। कांग्रेसले निर्वाचन मिति नजिकिँदै जाँदा संगठनात्मक दक्षता, उमेदवार छनोटको पारदर्शिता र सूचीकृत प्रक्रियालाई बलियो बनाउने दाबी गरेको छ।




