काठमाडौं । गत भदौ २३ र २४ मा देशभर भएको जेनजी आन्दोलनका घटनाले राजनीतिक वातावरण तहस–नहस बनाइरहेका बेला ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ सहानुभूति बटुल्ने अभियानमा लागिपरेका छन्। आन्दोलनताका तिखा भूमिका र पछिल्लो नागरिकता विवादबीच गुरुङ अब विभिन्न जिल्ला पुगेर स्थानीय प्रतिनिधि र सर्वसाधारणसँग भेटघाट गरिरहेका छन्।
सबैभन्दा डर लाग्दो आन्दोलन : झडप, आगजनी र मृत्यु
जेनजी आन्दोलन सुरु हुँदा नाइकेहरूले विद्यार्थीहरूलाई सडकमा ल्याए, नारा लगाइए, र माइतीघरमा पानी वितरण गरिएको थियो। पानी वितरण गर्नेमा सुदन गुरुङ पनि थिए। स्थिति तीव्र बन्दै जाँदा आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भयो।
प्रहरीले संयमित हुन आग्रह गरे पनि भीडले प्रहरीमाथि आक्रमण गरेको र तीन प्रहरीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। त्यही क्रममा ७६ आन्दोलनकारीको ज्यान गएको सरकारी तथ्यांक छ। आन्दोलन उग्र बन्दै जाँदा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, पार्टी कार्यालयहरू, सरकारी तथा निजी सम्पत्तिमा व्यापक तोडफोड भयो। ठूला नेताहरूका घरमा आगजनी भए, धेरै नेता घरविहीनजस्तै बने। अहिले जेनजीका घाइतेहरुले गुरुङको अभिव्यक्ति र क्रियाकलापमाथि प्रश्न चिह्नमात्र खडा गरेका छैनन्,भेट हुँदा आक्रमण समेत हुन सक्ने अभिव्यक्ति दिइरहेका छन् । अहिले देशमा स्वागतका फूलमालामा देखिन्छन् गुरुङ।
बारबरा फाउन्डेसनको संलग्नता र सत्ता परिवर्तन
हामी नेपालसँग सम्बन्धित बारबरा फाउन्डेसनका व्यक्तिहरूबारे पनि सोधपुछ भयो। पछि थुप्रै मन्त्रीहरू सोही फाउन्डेसनसँग आवद्ध रहेको तथ्य बाहिर आएपछि राजनीतिक तहमा विवाद झनै गहिरियो। उग्र आन्दोलनपछि सरकार ढल्यो र आन्दोलनकै आधारमा अन्तरिम सरकार गठन भयो। तर सो सरकार पनि आलोचनाबाट मुक्त रहन सकेन। जेनजी आन्दोलनकारीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागे।
नागरिकता सम्बन्धी विवाद उठेपछि गुरुङ स्थानीय तहमा पुगेका छन्। उनले गोर्खाका जनप्रतिनिधिसँग “मेरा नागरिकतामा प्रश्न नउठोस्” भन्दै प्रमाणिकरण मागेका छन्। यसैक्रममा गुरुङले आफन्तहरूसँग फोटो खिचाउँदै एमाले नेता महेश बस्नेतलाई ‘हाम्रो आफन्त’ भन्दै आलोचकलाई चुनौती दिएका छन्।
आन्दोलनका केही समयसम्म गुरुङले धाकधम्कीपूर्ण भाषा प्रयोग गरेको आलोचना थियो। तर अहिले उनी चुनावी तयारीमा देखिन्छन्। पर्याप्त आर्थिक स्रोत भए पनि राजनीतिक ज्ञान कमजोर भएका गुरुङले विभिन्न स्थानमा पुगेर आफूले गरेका गल्ती आंशिक रूपमा स्वीकार्दै भविष्यमा गर्ने योजनाबारे केही व्यक्तिलाई मात्र जानकारी दिएका छन्। तर, समग्रमा उनी स्पष्ट राजनीतिक जवाफ नदिएको, आन्दोलनपछिको जिम्मेवारी नलिएर “सहानुभूति–संग्रह राजनीति”मा केन्द्रित भएको विश्लेषकहरूको टिप्पणी छ।




