अर्थ

राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक : ब्याजदर घट्यो, व्यक्तिगत ओभरड्राफ्ट सीमा १ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लागू मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले अर्थतन्त्रमा तरलता सहज बनाउन ब्याजदरमा समायोजन गरेको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा समेत बढाएको छ।

समीक्षाअनुसार ब्याजदर करिडोरका प्रमुख दरहरू घटाइएको छ। स्थायी तरलता सुविधा  दर ६.०० प्रतिशतबाट ५.७५ प्रतिशतमा झारिएको छ। नीतिगत दर -पोलिसी रेट_ ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा पुनः निर्धारण गरिएको छ भने निक्षेप सङ्कलन दर २.७५ प्रतिशतमै स्थिर राखिएको छ।

कर्जाको पहुँचलाई विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्‍याइएको छ। यसले व्यक्तिगत वित्तीय आवश्यकतामा सहजता आउने केन्द्रीय बैंकको धारणा छ। यस्तै, समीक्षा मार्फत बैंकहरूले संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम ब्याजदर राख्नुपर्ने बाध्यात्मक प्रावधान खारेज गरिएको छ। नयाँ व्यवस्थाले बैंकहरूलाई निक्षेप दर तय गर्न थप लचिलो वातावरण प्रदान गर्ने राष्ट्र बैंकको विश्वास छ।

पहिलो त्रैमासिक समीक्षामा अन्य सूचकहरूको अवस्था, मुद्रास्फीति नियन्त्रण, विदेशी विनिमय सञ्चिति तथा कर्जा विस्तार प्रवृत्तिको विस्तृत विवरण पनि समेटिएको छ।

MP 2082-83 1st Quarter Review – Copy

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *