राजनीति

एमाले महाधिवेशन : ओलीको रणनीतिले आन्तरिक राजनीतिमा नयाँ रोचक मोड

काठमाडौं । एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओलीको शैलीमा आएको ‘दुई धार’ पार्टीभित्र मुख्य बहसको विषय बनेको छ—प्रतिस्पर्धामा खुलापन तर कार्यदिशा र नीतिमा पूर्ण कठोरता। चार वर्षअघिको विवादित निर्णयबाट पछाडि फर्किँदै ओली
चितवनमा चार वर्षअघि भएको १० औं महाधिवेशनमा ओलीले सर्वसम्मत नेतृत्वका नाममा एकतर्फी ३०१ सदस्यीय कमिटी घोषणा गर्दा एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै कडा आलोचना भएको थियो। भीम रावल र घनश्याम भुसालले प्रतिस्पर्धाबाट नहट्ने घोषणा गरेपछि केही पदमा चुनावै गर्नुपरेको थियो। त्यही आलोचना दोहोरिन नदिने संकेतसहित ओली यसपटक प्रतिस्पर्धा खुला हुने स्पष्ट सन्देश दिँदै देखिएका छन्।

ओली–पोखरेल प्रतिस्पर्धा : महाधिवेशनको मुख्य आकर्षण

आगामी महाधिवेशनमा ओली तेस्रो कार्यकालका लागि दाबी गर्दैछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुला रूपमा चुनौती दिँदै प्यानलसमेत बनाइरहेका छन्। दुवैले अध्यक्षमा उठ्ने संकेत दिइसकेका छन्, जसले महाधिवेशनलाई रोचक बनाएको छ। एमालेले करिब २,२०० प्रतिनिधि छनोट गरिसकेको छ र च्यासलमा लोगो सार्वजनिकसँगै महाधिवेशनको ‘काउन्टडाउन’ सुरु भइसकेको छ। लोगो सार्वजनिक कार्यक्रममा ओलीले प्रतिस्पर्धामा कुनै रोकटोक नहुने दोहो¥याए। तर राजनीतिक तथा सांगठनिक प्रस्तावमा कुनै परिवर्तन हुन नदिने उनको दृढ अडानले इतर समूह असन्तुष्ट देखिएको छ।

उनको भनाइ–“स्वच्छ प्रतिस्पर्धा हुन्छ, रोक्न खोजिँदैन।”“तर राजनीतिक प्रतिवेदन र संगठनात्मक नीतिमा हेरफेर आवश्यक छैन।” भदौ २२ मा सम्पन्न विधान महाधिवेशनपछि काठमाडौँमा भएको जेनजी आन्दोलनले देशको राजनीतिक समीकरण नै बदलिएको अवस्थामा पार्टीको कार्यदिशा फेरबदल हुनुपर्ने आवाज इतर समूहबाट उठिरहेको छ। तर ओली भने नीतिगत भागमा ‘कुनै लामो बहस नहुने’ पक्षमा उभिएका छन्।

ईश्वर पोखरेल, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टसहितका नेताहरू ओलीको कठोरताप्रति खुलेरै असन्तुष्ट छन्। सचिव योगेश भट्टराई भन्छन्— “जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक भूमिका नै बदलिएको छ, एमालेले नयाँ कार्यदिशा तय गर्नैपर्छ।” महाधिवेशन नजिकिँदै गर्दा ओलीको ‘प्रतिस्पर्धामा खुला र नीतिमा कठोर’ शैलीले पार्टीभित्र द्वन्द्व झनै गहिरिँदै गएको देखिन्छ। प्रतिस्पर्धा खुला भएको घोषणाले वातावरण हल्का भए पनि नीतिगत कठोरताले महाधिवेशनलाई उग्र बहस र रोचक मोडतर्फ लैजाने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *