काठमाडौं । लामो समयदेखि महाधिवेशनको मिति र प्रक्रियालाई लिएर दुई धारमा बाँडिएको विवाद अन्ततः सभापति शेरबहादुर देउवाको सक्रिय पहलपछि समाधानतर्फ उन्मुख भएको छ। नेपाली कांग्रेसले १५औँ नियमित महाधिवेशन पुस २६ देखि २९ गतेसम्म गर्ने नयाँ कार्यतालिका तय गरेको छ। असोज २८ गतेका लागि निर्धारण गरिएको मिति विवादित बनेपछि देउवाले निर्देश दिएपछि नयाँ सहमतिमार्फत महाधिवेशनको बाटो खुलेको हो।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माबीच भएको विस्तृत छलफलपछि नयाँ कार्यतालिकासहितको प्रस्ताव तयार गरिएको छ। यस प्रस्तावलाई सोमबार बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ। सो प्रस्ताव का.वा सभापति पूर्णबहादुर खड्काले पेश गर्ने जनाइएको छ ।
नेताहरूबीच व्यापक मतभेदपछि देउवाको ‘एकीकृत कार्यतालिका’ सूत्र
नेपाली कांग्रेसमा महाधिवेशन अघि वा पछि भन्ने विषयमा तीव्र ध्रुवीकरण भइरहेको थियो। एकातिर महामन्त्रीहरूले चुनावअघि नै विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अडान राखे भने अर्कोतिर संस्थापन पक्षका ‘सात भाइ’सहितका नेताहरूले चुनावअघि महाधिवेशन असम्भव र हानिकारक हुने तर्क अघि सारेका थिए ।
असोज २९ गते विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएपछि विवाद झनै चर्कियो। विभिन्न होटलदेखि राष्ट्रिय सभागृहसम्म दुवै धारका भेला र शक्ति प्रदर्शन चल्दै जाँदा पार्टी विभाजनको जोखिम एकदमै बढेको थियो। यहि उथलपुथलबीच सभापति देउवाले शनिबार रमेश लेखकको प्रस्तावलाई आधार बनाएर सहमति खोज्न निर्देशन दिएपछि पार्टीको द्वन्द्व समाधानतर्फ फर्किएको हो।
मध्यमार्गी भूमिका खेल्दै लेखकको प्रस्ताव ‘साझा समाधान’
पार्टीमा दुवै धार एकअर्कालाई दोषारोप गर्दै विभाजनको रेखा कोरिरहेका बेला नेता रमेश लेखक मध्यमार्गी सेतु बने। आमाको काजकिरिया सकेपछि सक्रिय राजनीतिमा फर्किएका उनले असोज २२ देखि नै सभापति देउवा र प्रमुख नेताहरूसँग निरन्तर संवाद थाले। लेखकले प्रस्तुत गरेको ‘व्यवहारिक र समयानुकूल’ प्रस्तावले दुवै पक्षलाई एकै ठाउँमा उभ्याउन सफल भएको पार्टी नेताहरूको बुझाइ छ। संस्थापन पक्षभित्र सुरुमा अस्वीकार गरिएको लेखकको प्रस्ताव अन्ततः सबैका लागि स्वीकार्य ‘मध्य मार्ग’ बन्न पुगेको छ। अब यहि प्रस्तावअनुसार पुसभित्रै महाधिवेशन सम्पन्न गर्न कार्यतालिका निर्माण हुँदैछ।
लेखकको मूल तर्क थियो—“विशेष महाधिवेशन भनेको कांग्रेसको समाधान होइन, नयाँ संकटको प्रवेशद्वार हो। त्यसले प्रत्येक समूहलाई आ–आफ्नो बाटो देखाउँछ र पार्टी विभाजनतिर धकेल्छ।” उनको चेतावनीलाई अब दुवै धारले स्वीकार गरेको देखिन्छ। पार्टीका एक पदाधिकारीका अनुसार, “सुरुमा विवादित ठानिएको लेखकको प्रस्ताव नै अन्ततः सबैका लागि स्वीकार्य सूत्र बनेको छ।” महाधिवेशन पुस २६–२९ मा हुने गरी केन्द्रीय समिति बैठकमा एकीकृत कार्यतालिका पेस गर्ने तयारी छ । विधान संशोधन तथा महाधिवेशन तयारीका बिविध समिति गठन, क्रियाशील सदस्यता र आन्तरिक संरचना अद्यावधिकमा गति बढाइनेछ । विभाजनको जोखिमले घेरेको कांग्रेसलाई देउवाको हस्तक्षेप र लेखकको मध्यमार्गी प्रस्तावले पुनः एकतर्फ डोर्याएको देखिन्छ। अब महाधिवेशनले मात्र पार्टीको भविष्य दिशानिर्धारण गर्नेछ।
जेनजी आन्दोलनपछि सभापति देउवा उपचारका क्रममा सिंगापुर गए । उपचारमा जानुअघि नै असोज २८ गते केन्द्रिय समिति बैठकमा बोल्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो । सभापति देउवा सिंगापुर गएको दाऊ छोपेर कांग्रेसका संस्तथापनकै केही नेताहरु र संस्थानपइतर समुहका नेताहरु विशेषगरी महामन्त्री विश्वप्रकाश शर्मा ,गगनकुमार थापा,प्रदिप पौडेल, डा. सुनिल शर्मा, पूर्व स्वतन्त्र सांसद अमरेश कुमार सिंह लगायतका नेताहरुले विभिन्न रणनीति बनाएर कांग्रेस संस्थापन पक्षलाई बलका आधारमा नै पेल्ले अभियान चाले ।
उनीहरुले गत भदौ २३ र २४ गतेको जेनजी अन्दोलनका क्रममा सभापति देउवामाथि र पूर्व परराष्ट्रमन्त्री आरजु देउवामाथि भएको सांगातिक हमलाको विषयमा केही बोलेनन्,बोले त कमै बोले । जब सभापति देउवा सिंगापुर पुगे अनि त्यसपपछि उनीहरुले विभिन्न मिडियामा सभापति देउवा सम्पती सुद्धिकरण गर्नुपर्ने समेत भन्न पाए । तर सभापति देउवाले सो विषयमा पहिला नै बोलीसकेका थिए । जुन प्रचार गरियो त्यो सत्य होइन्,सभापति देउवाले भनेका थिए ।
सभापति देउवाले मंशिरभित्र नै महाधिवेशन सक्न निर्देशन दिएका थिए । तर सो विवाद समाधान गर्न दुबै पक्षका सक्षम नदेखिएपछि केही समय ढिला भयो । सभापति देउवाले आइतबारको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमैँ भने,तपाईँहरुले किन महाधिवेशन यति बेलासम्म नसकेको ? मैँले मंशिरमैँ गर्नु भनेको थिएँ त् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले त,विशेषमहाधिवेशन नभए पार्टी फुटाउन तयार रहेको अभिव्यक्ति नै दिएका थिए ,त्यतिमात्र होइन् महामन्त्री शर्माले त पार्टीबाट महामन्त्रीको पदबाट राजीनामा दिने समेत भन्दै संस्थापन पक्ष लगायत सभापति देउवामाथि धम्की पिटे । सभापति देउवालाई दबाब दिन विभिन्न छलफल र शक्ति प्रर्दशन समेत गरे ।तर सो विषयमा संस्थापन पक्षका नेताहरुले केही जवाफ फिर्ता गरेनन् बरु सहमतिको बाटो खोज्न सबैलाई आग्रह गरे ।
कांग्रेस संस्थापन पक्षका बरिष्ट नेता डा। शेखर कोइरालाले भने सभापति सिंगापुर गएको बेलापनि आफ्नै पक्षका नेताहरुलाई सहमतीमा अघि बढ्न आग्रह गरेका थिए । डा.कोइरालले महामन्त्री लगायत असन्तुष्ट पक्षलाई सभापति देउवाले दिएको सन्देश नै सुनाउँथे प्राय । उनले पार्टी एकताको विषय र नियमित महाधिवेशनको बाटो नै अहिलेको उचित विकल्प भएको बताउँदै आएका थिए । अब १५ औँ महाधिवेशनबाट डा. कोइराला पार्टी सभापति बन्ने निश्चित देखिन्छ । डा। कोइराला अरु नेता भन्दा नेतृत्वमा अलि अब्बल र परिपक्व देखिन्छन् ।
का।वा सभापति पूर्णबहादुर देउवाले पार्टीभित्र देखिएको हरेक किसिमको विवाद मिलाउने प्रयास त गरे तर निर्णय निकाल्न असमर्थ भएका थिए । जव सभापति देउवा सिंगापुरबाट स्वदेश फिर्ता भए त्यसपछि खड्काले विगतमा भएका घटनाहरुबारे सभापति देउवालाई विश्लेषण गराए । त्यसपछि सभापति देउवा पार्टीभित्र देखिएको विवाद समाधान निकाल्ने प्रयासमा सक्रिय भए । सक्रिय भएको केही दिनमैँ सहमती निस्कियो । यसलाई नै इतिहासमा जेष्ठता र दृढ बिचार र पहल कदमी भएको नेतृत्वका रुपमा चित्रण गर्न सकिन्छ ।
जेष्ठता,निर्णय क्षमता, आन्तरिक तथा बाह्य गतिविधि र कुटनैतिक सम्बन्ध विस्तारमा देउवालाई अरु नेता भन्दा अब्बल मान्छिन्। सभापति देउवाको कमैँ बोल्ने र निर्णय तत्काल लिन सक्ने क्षमताकै कारण पाँचौ पटकसम्म प्रधानमन्त्री बने । कसैमाथि विभेद गरेनन्, नत कुनै विवादमा नै मुछिए । पार्टी एकता र एकल बहुमत मत परिणाम ल्याउन सक्ने नेतृत्व छनोटमा सभापतिको अहम भूमिका रहने अपेक्षा गरिएको छ । सभापति देउवाको सन्देश बरिष्ठ नेता डा. शेखर कोइरालाले जनतासामू फिँजाइरहेका छन् । पार्टी एकता, एकल बहुमत नै पार्टी र देशका लागि चाहिने जनमत हो । यो विषयमा कांग्रेसका दुबैपक्ष संस्थापन र संस्थापनइतर समुहका सबै नेताहरुका लागि चिन्तन गर्ने विषय बनेको छ ।




