काठमाडौं । बारा र सिमरा क्षेत्रमा उत्पन्न तनावपछि नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारप्रति तीव्र आक्रोशित देखिएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले “राजनीतिक कार्यक्रम रोक्ने, नेताहरूलाई यात्रामा अवरोध गर्ने र सुरक्षा निकाय निष्क्रिय बनाउने” सरकारले चुनावको वातावरण नै नबनाएको आरोप लगाए।
उनले बारा घटनालाई सरकारको ‘पूर्ण लापरबाही’को नमुना ठहर गर्दै प्रश्न गरे—“नेताहरूलाई सभा–कार्यक्रममा जानै नदिने सरकार चुनाव कसरी गराउँछ रु एकातिर छलफल बोलाउने, उता एयरपोर्ट बन्द गराउने—यही हो चुनावी तयारी ?”
जेनजी नाममा ‘तोडफोडको पुनरावृत्ति’
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली ओलीले बारा र वीरगन्जमा भदौ २३–२४ मा भएको अराजक गतिविधिमा संलग्न समूह नै फेरि सक्रिय भई एयरपोर्ट बन्द गराएको दाबी गरे। उनका अनुसार, “५०–६० जनाले आएर विमानस्थललाई नै अवरुद्ध गरिदिने हो भने यो कस्तो देश ? जेनजी भनेर जतिबेला चाहे त्यतिबेला विमानस्थल बन्द, सभा रोक। अनि भन्छ—चुनाव गर्छु।” ओलीले सरकारद्वारा ‘अराजक समूह’माथि कुनै कारबाही नगरेकोले उनीहरूको मनोबल झनै बढेको आरोप पनि लगाए।
‘अपराधीलाई नछुने, राजनीतिक पार्टीलाई छेक्ने’
ओलीका अनुसार एमालेले लामो समयदेखि बारा–वीरगन्जका दंगामा संलग्न व्यक्तिलाई नियन्त्रण गर्न माग गरिरहेको छ, तर सरकार अटेरी बनेर बसेको छ।
उनले भने— “वीरगन्ज जलाउने, बारा जलाउने तिनैले आज फेरि एमालेमाथि आक्रमण गरिरहेका छन्। किनभने कारबाही शून्य छ। अपराधीको मनोबल सरकारले नै बढाइदिएको हो।”
ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘भिडियो बनाएको मात्र कारण’ रातारात पक्राउ गरेको घटनालाई समेत सरकारको अधिनायकवादी प्रवृत्ति भएको बताए।
उनले प्रश्न गरे—“वीडियो निकाले भनेर राति नै समात्नुपर्ने कस्तो हतार रु बिहान पक्राउ गरे पनि हुन्थ्यो। यो समस्याको समाधान होइन—तमासा मात्रै हो।”पूर्वप्रधानमन्त्री ओलीले भने,‘नेताहरूको स्वतन्त्र हिडडुलमा अवरोध,सभा–समारोह रोक्ने सरकारी रवैया,सुरक्षा संवेदनशील क्षेत्रमा राज्यको कमजोरी र विरोधीलाई लक्षित दमनात्मक कदम यी सबैले आगामी प्रतिनिधि सभा निर्वाचनमाथि नै गम्भीर प्रश्न उठाएको छ।
ओलीले थपे,“सरकार चुनाव गराउने तयारीमा छ भन्ने देखिँदैन। यस्तो असुरक्षित, अवरोधपूर्ण र अराजक वातावरणमा निर्वाचन हुन्छ भन्नु नै मजाक हो।”




