काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाणपत्र लिन आज अन्तिम दिन हो। निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न कार्तिक मसान्तसम्मको समय दिएको थियो, जुन आज सकिदैछ।
आयोगका अनुसार शनिबारसम्म १२७ दल दर्ता भइसकेका छन् भने २० दल दर्ता प्रक्रियामा छन्। भदौ २३–२४ को जेनजी आन्दोलनपछि आयोगमा परेका निवेदनमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीलाई मान्यता दिइएको छ। यसअघि आयोगबाट १२४ दलले राजनीतिक दलको मान्यता पाइसकेका थिए।
निर्वाचन आयोगका अनुसार दल दर्ता नियमित प्रक्रिया हो। आयोगले मान्यता पाएका दललाई फागुन २१ को निर्वाचन प्रयोजनका लागि मंसिर १–१० सम्म निवेदन दिन आह्वान गरेको छ। मंसिर १० पछि निर्वाचनमा कुन–कुन दल सहभागी हुने भन्ने निश्चित हुनेछ।
त्यस्तै, निर्वाचनका लागि शुक्रबारसम्म २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन्। २०६४ फागुन २० गतेसम्म जन्मेका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा मतदान गर्न सक्नेछन्।
आयोगले राष्ट्रिय परिचयपत्र भएका मतदाताले बायोमेट्रिक दिन नपर्ने र अनलाइनबाट नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। यसले मतदातालाई लाइनमा बस्ने झन्झटबाट मुक्त गर्दै सजिलै अनलाइन दर्ता गर्न सहज बनाएको छ। कार्तिक मसान्तसम्म नाम दर्ता गर्न दिइएको समय मतदाताको अत्यधिक चापका कारण पाँच दिन थपेर मंसिर ५ गतेसम्म गरिएको छ।




