देश

मुखमन्त्री यादवको नियुक्तिको विरोध गर्दै सात दल आज पनि धर्नामा

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले)का नेता सरोजकुमार यादवको असंवैधानिक नियुक्ति खारेजीको माग गर्दै सात राजनीतिक दलका सांसद तथा कार्यकर्ताहरूले आज पनि धर्ना दिएका छन् ।

मधेश प्रदेश सरकारको प्रशासनिक भवन मधेश भवनको मुख्य गेटअगाडि बिहानैदेखि सुरु गरिएको धर्नामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसद तथा कार्यकर्ताहरू सहभागी छन् ।

मंगलबार साँझको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको विरोधमा सातै दलले गएराति संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले अदालतले दिएको अन्तरिम आदेशप्रति सन्तुष्टि व्यक्त गर्दै कानुनी तथा सडक दुवै माध्यमबाट अधिकार प्राप्त गर्ने उद्देश्यले आन्दोलन जारी राखिने बताए ।

७४ जना सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमार्फत मुख्यमन्त्री यादवको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै तत्काल बर्खास्त गर्न माग गरिएको छ ।
यसबीच, मुख्यमन्त्री यादव मंगलबार पदभार ग्रहण गरी बुधबार बिहानै काठमाडौं लागेका थिए । उनी अहिले काठमाडौंमै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *