काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तोष फेरि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले बुधबारको केन्द्रीय समिति बैठकमा पार्टीको नियमित महाधिवेशन रोकिएकोबारे कडा प्रश्न उठाएका छन्।
बस्नेतले स्पष्ट शब्दमा भने — “महाधिवेशन रोक्ने को होरु किन रोकिएको होरु र, यसमा पार्टी नेतृत्व किन मौन छ? ”
महाधिवेशन रोकिनुको कारण के हो ?
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै बस्नेतले क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया अझै अधुरो रहेको बताए । उनले भने, “क्रियाशील सदस्यता व्यवस्थापन छानबिन समितिका संयोजक स्वयं महामन्त्री गगन थापा हुन्, तर उनले समयमै काम नगरी अरूको नाममा दोष थोपर्ने प्रवृत्ति देखाएका छन्।”
बस्नेतका अनुसार, पार्टी नेतृत्वले मंसिरमा महाधिवेशन गर्ने तयारी गरेको भने पनि कार्यतालिका र चरणबद्ध योजना अझै सार्वजनिक छैन। उनले व्यंग्य गर्दै भने, “यदि मंसिरमा महाधिवेशन हुने भनिएको हो भने त्यसको स्पष्ट कार्यतालिका ल्याउनुस्, प्रदेश र जिल्लास्तरका तालिका कहाँ छन्?”
महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पार्टीमा अघि सारेका छन्। तर बस्नेतका अनुसार, सो प्रस्तावमा ठोस योजना र संगठनात्मक तयारी झल्किएको छैन। उनले भने,“मिती प्रस्ताव गर्नु सजिलो हो, तर सदस्यता नवीकरण नहुँदासम्म चुनाव कसरी सम्भव हुन्छ ?”
पार्टीभित्र हाल क्रियाशील सदस्यता र संगठन विस्तारका नाममा विवाद बढ्दै गएको छ। केही नेताहरूले यस प्रक्रियामा ‘आफ्ना मानिसहरूलाई प्राथमिकता दिने र अन्यलाई पन्छाउने’ प्रवृत्ति मौलाएको बताएका छन्। बस्नेतले पार्टीभित्र मागिएको विशेष महाधिवेशनबारे पनि प्रश्न उठाए। उनका अनुसार,“५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका छन्, तर यसको उद्देश्य के हो — नेतृत्व परिवर्तनका लागि वा नीतिगत पुनरावलोकनका लागि ?”
उनले स्पष्ट पारे —“नेतृत्व परिवर्तन आजको मुद्दा होइन। पार्टीले आफ्नो नीति, कार्यशैली र संगठनात्मक सन्तुलन पुनरावलोकन गर्नुपर्ने बेला आएको हो।” उनको भनाइमा विशेष महाधिवेशन गर्ने कुरा भावनात्मक होइन, कार्यविधि र राजनीतिक स्पष्टता आवश्यक पर्ने निर्णय हो।
आफू सभापति शेरबहादुर देउवाको कार्यकर्ता भएको स्वीकार गर्दै बस्नेतले भने, “म सभापतिज्यूको कार्यकर्ता हुँ र त्यसमा गर्व गर्छु। तर कार्यकर्ता हुनुको अर्थ प्रश्न नगर्नु होइन।” उनले पार्टीभित्र सत्य बोल्ने संस्कार हराउँदै गएको भन्दै दुःख पनि व्यक्त गरे।“कांग्रेस लोकतन्त्रको मूल आत्मा हो, तर भित्रै लोकतान्त्रिक अभ्यास हराउँदै गएको देख्दा चिन्तित छु।”
उनका अनुसार कांग्रेस हाल दुई धारमा बाँडिएको देखिन्छ ,देउवा नेतृत्वको निरन्तरतामा अडिग समूह, सुधार र संगठनात्मक पुनर्संरचनाको माग गर्ने समूह। नेता बस्नेतको अभिव्यक्ति दोस्रो धारलाई बल पुर्याउने किसिमको देखिन्छ। बस्नेतको प्रश्नहरू केन्द्रीय समितिमा राखिँदा देउवा पक्षले तत्काल प्रतिवाद गरेन। तर पछिल्ला बैठकमा देउवा समर्थक नेताहरूले पार्टीलाई अस्थिर पार्ने प्रयास भइरहेको भन्दै असन्तोष व्यक्त गरेका छन्।
एक वरिष्ठ नेता भन्छन्, “महाधिवेशन ढिलाइ हुनु प्राविधिक कारणले पनि हो, तर अब संगठन निष्क्रिय हुँदा राजनीतिक विश्वसनीयता घट्दै गएको छ।” विश्लेषकहरूका अनुसार , बस्नेतको आवाज केवल व्यक्तिगत असन्तुष्टि होइन — पार्टीभित्र मौन असन्तोषको संकेत हो।
महाधिवेशन कांग्रेसको ‘परीक्षा’
नेपाली कांग्रेसको आगामी नियमित महाधिवेशन अब केवल औपचारिक प्रक्रिया होइन, नेतृत्वको विश्वसनीयता र संगठनको जीवन्तताको परीक्षा बन्दै गएको छ। जितजंग बस्नेतको प्रश्नले त्यो यथार्थ उजागर गरेको छ —पार्टीको आन्तरिक लोकतन्त्र अझै चुनौतीमा छ, र निर्णय प्रक्रिया पारदर्शी बन्न बाँकी छ। अब प्रश्न यही छ — महाधिवेशन रोक्ने हात कसको हो? उतर चाहे जोकोही होस्, त्यसले कांग्रेसको राजनीतिक भविष्यमा गहिरो प्रभाव पार्ने निश्चित छ।




