काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको बताएका छन्। नेता सिंहले शोभा भगवतीमा आयोजित स्व। गणेशमान सिंहको १११औँ जन्मजयन्ती समारोहमा बोल्दै भने, “नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी हो। हामी चुनावमा सहभागी हुनेछौँ र देशलाई अहिलेको सङ्कटबाट कांग्रेसले नै पार लगाउनेछ।”
हाल पार्टीभित्र उठिरहेको विशेष महाधिवेशनको मागबारे टिप्पणी गर्दै उनले भने, “नियमित महाधिवेशन नजिकिएको बेला विशेष महाधिवेशनको आवश्यकता छैन। अहिलेको मुख्य लक्ष्य जनताको विश्वास जित्ने र राष्ट्रिय सङ्कट समाधान गर्ने हो।”
उनले पार्टीले जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै नयाँ पुस्ताको विचार, ऊर्जा र आकाङ्क्षालाई संगठनमा समेट्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा सहभागी नेताहरू र कार्यकर्ताहरूले स्व. गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै उनको सालिकमा माल्यार्पण गरेका थिए।




