काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
सिंहदरबारमा आइतबार आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन सफल हुन आवश्यक भएको बताए। उनले युवा पुस्तामा सुशासन र विकासप्रति देखिएको उत्साहलाई ध्यानमा राख्दै निर्वाचनलाई राष्ट्रिय अवसरको रूपमा लिनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले सञ्चारमाध्यमलाई लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण स्तम्भका रूपमा उल्लेख गर्दै सत्य, तथ्य र विश्वसनीय सूचनामार्फत नागरिकलाई जागरूक बनाउन आग्रह गरे। उनले भने, “सत्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य मात्र होइन, नागरिकको मौलिक अधिकार पनि हो।”
त्यस क्रममा उनले प्रविधिको दुरुपयोग गरी मिथ्या सूचना फैलाउने प्रवृत्तिबाट समाजलाई जोगाउन जिम्मेवार पत्रकारिता आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले प्रसारण माध्यमहरूले सिर्जनात्मक र जनमुखी विषयवस्तुमा ध्यान दिनुपर्ने बताए। उनले सार्वजनिक सेवा प्रसारणलाई दिगो र प्रभावकारी संस्थाका रूपमा अघि बढाउन सामग्रीको गुणस्तर महत्वपूर्ण हुने उल्लेख गरे।
उक्त अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालको नयाँ लोगो सार्वजनिक गरिएको थियो र एन टिभी वर्ल्ड नामक नयाँ च्यानलको शुभारम्भ पनि गरिएको थियो।




