भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपालको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘आवश्यकताको सिद्धान्त प्रयोग’ गरेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका छन् । जसलाई फागुन २१ गते आमनिर्वाचन गर्ने म्यान्डेट दिइएको छ । कार्की नेतृत्वको सरकार गठन भएको दुई महिना हुनै लाग्यो । तर अहिलेसम्म निर्वाचनको माहोल तयार भएको छैन । सबै दलमा आन्तरिक किचलो कायम छ भने दलहरू गठन, पुनर्गठन, नयाँ दल खुल्ने क्रम जारी छ ।
यस्तो अवस्थामा अहिले सबैको ध्यान नेपालकै सबैभन्दा पुरानो दल कांग्रेसमा अडिएको छ ।एक महिनादेखि कांग्रेस कार्यसमितिको बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छैन । त्यसैले सानेपाले के गर्छ ? कस्तो नीति अख्तियार गर्ला ? भन्ने सबैको चासो र चिन्ता छ । तर कांग्रेसमा भने १५औं महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विवाद जारी छ । सबैले महाधिवेशनबारे आ–आफ्नो तर्क राखेका छन् । तर, कसैले पनि कांग्रेसलाई पुनर्गठन गर्ने, यसको संगठन विस्तार गर्ने, नयाँ युवालाई आकर्षित कसरी गर्ने ? भन्ने खाका र विचार प्रस्तुत गर्न सकेका छैनन् ।
बरु कसरी कांग्रेसको सत्तामा पुग्ने, कसरी आफूले अहिलेसम्म राख्दै आएको पकड अझ मजबुत बनाउने भन्ने चिन्ता नेताहरूमा देखिएको छ । यसले कांग्रेसलाई बलियो भन्दा पनि खाडलमा पु¥याउने निश्चित जस्तै छ । कांग्रेस मासबेस पार्टी हो । नौ लाख क्रियाशील सदस्यता भएको पार्टीमा अहिलेसम्म तीन लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । ६ लाख बाहिरै छन् । अहिले कांग्रेसमा देखिएको किचलोले बाँकी क्रियाशील सदस्यले नवीकरण गर्लान् भन्ने के ग्यारेन्टी ? किनभने नयाँ दल खुल्ने र पुराना दल विघटन भएर नयाँ बन्ने क्रम जारी छ । जसले गर्दा कांग्रेसका क्रियाशील सदस्य तितरवितर हुने सम्भावना अत्यधिक छ । कांग्रेसमा युवा अर्थात् जेनजीलाई आकर्षित गर्नुपर्नेमा भएकै क्रियाशील सदस्यता विभिन्न गुट–उपगुटको झगडाले पार्टीमा अटाउन नसक्ने वातावरण बन्दै गएको छ । जसले सन्निकट निर्वाचनमा कांग्रेसले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने नै अहिलेको प्रमुख चिन्ता हो ।
अहिले पार्टीमा रहेका पदाधिकारी र केन्द्रीय सदस्यले माथि उल्लिखित विषयमा ध्यान नदिने, गम्भीर नहुने भने कांग्रेसलाई खाल्डोमा जाकिनबाट कसैले रोक्न सक्दैन । अन्तरिम सरकारले चुनावको रटान लगाइरहेको छ । तर जबसम्म कांग्रेसले चुनावमा जाने निर्णय गर्दैन, तबसम्म यो देशमा चुनाव भएको इतिहास छैन । अझ देशका सबै निर्वाचन कांग्रेसले मात्रै गराएको इतिहास साक्षी छ । त्यही भएर अहिले मंसिरमा महाधिवेशन गर्ने घोषणा गरेको एमालेले पनि कांग्रेसको केन्द्रीय समिति बैठकप्रति चासो धेरै राखेको छ ।
एमाले संसद् पुनःस्थापनाको माग गर्दै अदालत र सडकमा जाने मनस्थितिमा छ । तर कांग्रेसले चुनावमा जाने निर्णय गरेमा एमालेलाई नैतिक संकट उत्पन्न हुने छ । त्यही भएर कांग्रेस तत्काल चुनावमा नजाओस् महाधिवेशनबाट नयाँ नेतृत्व नचुनोस् भन्ने एमालेको अपेक्षा छ । यदि कांग्रेसले समयमै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेमा र कार्यसमितिमा युवा बाहुल्यता बनाएर भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावमा गएमा एमाले साँच्चिकै अप्ठेरोमा पर्नेछ । त्यसैले पार्टीका जिम्मेवार नेताहरूले सुझबुझपूर्ण निर्णय लिने अपेक्षा गरिन्छ । किनभने पार्टी सभापति शेरबहादुर देउवाले ‘ग्रेसफुल एक्जिट’ लिइसकेका छन् ।




