काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज २० जनाले धारणा राखेका छन्। असोज २८ गते प्रारम्भ भएको बैठक भोलि पनि बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ११ः३० बजेबाट निरन्तर अघि बढ्नेछ।
आजको बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदीपकुमार सुनुवार, नैनसिंह महर र विनोदकुमार चौधरीले आफ्नो धारणा राखेका थिए।
त्यस्तै, मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल के.सी., रुपा वि.क., धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले पनि बैठकमा आफ्नो विचार प्रस्तुत गरेका थिए।
बैठकमा पार्टीको आगामी महाधिवेशन मितिबारे तीव्र मतभेद देखिएको छ। महामन्त्री गगन थापाले निर्वाचनअघि महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् भने संस्थापन पक्षले भने फागुन २१ पछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।
यसअघि पनि कांग्रेस नेतृत्वबीच नियमित महाधिवेशनको मिति निर्धारणका विषयमा सहमति जुट्न नसकेको कारण बैठक पटक–पटक स्थगित हुँदै आएको थियो। भोलिको बैठकले महाधिवेशनको मिति र तयारीबारे ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।





