राजनीति

डा. कोइरालाको अडान : पार्टीभित्रको गुटको अन्त्य र नियमित महाधिवेशनमा ठोस निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व पुनर्संरचना र महाधिवेशनको मिति टुंग्याउने विषयले फेरि केन्द्रविन्दु पाएको छ। विशेष महाधिवेशनको माग गर्दै देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले नेता डा. शेखर कोइरालासँग भेट गरी नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेपछि कांग्रेसभित्रको आन्तरिक राजनीति थप तातिएको छ।

सोमबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेको समूहले पार्टीमा देखिएको निर्णयहीनता अन्त्य गर्न उनको सक्रिय हस्तक्षेप आवश्यक रहेको भन्दै मुख्य नेतृत्वलाई दबाब दिएको स्रोतको दाबी छ । उनीहरूले करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको माग केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश नै नपाएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। तर कांग्रेसभित्र संकटको घडीमा अवसरवादलाई प्राथमिकता दिन नसिक्ने कांग्रेस संस्थापन पक्षको अडान छ ।

कोइरालाको अडान : “दुई प्रस्ताव होइन, एउटै निष्कर्ष चाहन्छु”

कांग्रेस संस्थापनइतर समुहका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको द्वन्द्वलाई एकतामा रूपान्तरण गर्न आग्रह गर्दै स्पष्ट अडान राखे— “पार्टीभित्र दुईवटा प्रस्ताव आउनु कांग्रेसको हितमा हुँदैन। नियमित वा विशेष, जुन विकल्प होस्, एउटै कार्यतालिकामा सहमति बनोस् भन्ने मेरो प्रयास छ।”

उनका अनुसार, मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नु सबैभन्दा उचित विकल्प हो। यदि त्यो सम्भव भएन भने केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाएर नयाँ ऊर्जा र स्पष्ट नेतृत्व दिनुपर्छ ।

हस्ताक्षर अभियानका संयोजक मनोजमणि आचार्यका अनुसार, पार्टीको नीति, नेतृत्व र संगठनात्मक कार्यशैलीमा नवीकरणको आवश्यकता पार्टीका अधिकांश प्रतिनिधिहरूले महसुस गरिरहेका छन्।
“हामीले कोइरालाजीलाई हस्ताक्षरहरूको औचित्य बुझाउँदै, यो आन्दोलन कुनै व्यक्ति केन्द्रित नभई संस्थागत सुधारका लागि भएको बतायौं,” उनले स्पष्ट गरे।

अर्का नेता गुरूराज घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. कोइरालासँगको भेट योजनाबद्ध भएको आरोप समेत लगाए । “चार वर्षे कार्यकालभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने, सम्भव नभए विशेष महाधिवेशन बोलाउने कुरा डा. कोइरालाले खुलेर राखेको उनको भनाइ छ ।

जिम्मेवारी कार्यवाहक सभापति खड्कामाथि

पार्टीको आन्तरिक कार्यसूची र महाधिवेशन तयारीको जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि रहेको छ । सभापति शेरबहादुर देउवाले उपचारका क्रममा सिंगापुर जानुपूर्व पार्टीलाई एक ढिक्का बनाउने र अवसवादको अन्त्य गरी पार्टी ,मुलुक र विकासको एजेण्डा मुख्य रुपमा अगाडी बढाउन निर्देशन दिइसकेकाले यस विषयमा आन्तरिक गृहकार्य जारी रहेको का.वा खड्काको भनाइ छ ।

यता, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत समूहसँग संवाद गरी पार्टीभित्रको हालको अवस्था र सम्भावित कार्ययोजना साझा गर्ने प्रयास गरेका छन्।

कांग्रेसभित्र बढ्दै गएको असन्तुष्टि केवल महाधिवेशनको मिति वा प्रक्रियासँग सीमित छैन— यो संगठनात्मक दिशा र नेतृत्व क्षमताको परीक्षण पनि हो। डा .शेखर कोइरालामाथि सुधारवादी धारको प्रतिनिधित्व गर्ने अपेक्षा बढ्दो छ भने कार्यवाहक सभापति खड्का नेतृत्व स्थायित्व कायम राख्नुपर्ने बताएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *