काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनले सम्मेलनका क्रममा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्।
राष्ट्रपति पौडेल संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका हुन्। सम्मेलन आगामी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई विदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।
“सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन” को मुख्य विषय विकासमा बढ्दो असमानता, जनसंख्याको असन्तुलन र प्रविधिको प्रभावले समाजमा पारेको असरमा केन्द्रित रहनेछ।
सम्मेलनले विश्वभरका मुलुकहरूबीच सामाजिक समानता, रोजगारी, र मानव विकासका नीतिहरूमा सहकार्यका सम्भावना खोज्ने उद्देश्य राखेको छ।
यसअघि, यस्तै सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा आयोजित गरिएको थियो, जसले सामाजिक न्याय र समावेशी विकासको आधारशिला राखेको मानिन्छ। नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहँदै आएको छ र हाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षको जिम्मेवारी पनि वहन गर्दैछ। त्यसैले राष्ट्रपति पौडेलको सहभागिता नेपालका लागि केवल औपचारिक भ्रमण मात्र नभई, सामाजिक न्याय र समावेशी विकासमा नेपालको नीति र प्रतिबद्धता प्रस्तुत गर्ने अवसरको रूपमा पनि हेरिएको छ।
राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रमा कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनमा उनले समावेशी विकास, प्रवासी श्रमिकको अधिकार, र दक्षिण एशियामा सामाजिक असमानता घटाउने नेपालका प्रयासबारे प्रकाश पार्ने तयारी गरेको बताइएको छ।
राष्ट्रपति पौडेलले कतारको औपचारिक भ्रमण सकेर कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।








