राजनीति

महाधिवेशनको विवाद चर्किँदै, कांग्रेसभित्र छुट्टै भेला आह्वान

काठमाडौँ ।नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका विषयमा मतभेद चर्किँदै जाँदा त्यसका पक्षधर नेताहरूले आगामी आइतबार काठमाडौंमा छुट्टै भेला आह्वान गरेका छन्। पार्टीभित्रको संस्थापन पक्ष र परिवर्तन पक्षबीचको वैधानिक विवादले नेतृत्व तहमा असहजता बढेको छ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गरिए पनि संस्थापन पक्षले सो मागको वैधानिकता प्रश्न उठाएपछि उक्त भेला बोलाइएको हो।

नेता गुरुराज घिमिरेका अनुसार यो कुनै राष्ट्रव्यापी प्रदर्शन नभई आन्तरिक छलफल र आगामी रणनीति निर्धारणका लागि आयोजित भेला हो। “स्थान अझै टुंगो लागेको छैन, तर बानेश्वर आसपासमा बैठक बस्ने तयारी भइरहेको छ,घिमिरेले बताए।

यसबीच, शेखर कोइराला र गगन थापाको समूहले पुस १६ गते नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् भने संस्थापन पक्षले फागुन २१ को निर्वाचनअघि सम्भव नभएको भन्दै वैशाखमा गर्ने अडान लिएको छ।

कार्यतालिकामा सहमति जुट्न नसकेपछि महामन्त्री गगन थापाले पछिल्लो केन्द्रीय बैठक बहिस्कार गरेका थिए।

दलभित्रको यो शक्ति संघर्षले कांग्रेस नेतृत्वलाई थप दबाबमा पारेको छ। विश्लेषकहरूका अनुसार विशेष महाधिवेशनको मिति र प्रक्रियालाई लिएर हुने आगामी निर्णयले पार्टीको भविष्य दिशानिर्देशनमा ठूला प्रभाव पार्ने सम्भावना देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *