काठमाडौं । स्वतन्त्र जेन जी समूह नेपालले देशमा अन्तर्राष्ट्रिय शक्ति र विदेशी संस्थाहरूको हस्तक्षेप बढेको आरोप लगाउँदै कात्तिक १५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
समूहले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “दूतावास र एनजीओ–आईएनजीओहरूको प्रभावमा सरकारले निर्णय लिँदै आएको छ। यस्तो प्रवृत्तिले नेपालको सार्वभौमिकता, अखण्डता र स्वाभिमानमाथि खतरा पैदा गरेको छ।”
समूहका अनुसार अहिले ‘जेन जी आन्दोलन’को नाममा विदेशी शक्ति सक्रिय भइरहेकाले स्वतन्त्र र स्वदेशी दृष्टिकोणबाट जनचेतना र प्रतिरोध आवश्यक भएको हो।
विज्ञप्तिमा भनिएको छ, “देशमा विदेशी हस्तक्षेप बढ्दै जाँदा युवा पुस्ताको आवाज दबाउने प्रयास भइरहेको छ। नेपाललाई बाह्य स्वार्थको खेलमैदान बनाउन खोज्नेहरूले राष्ट्रिय एकतालाई कमजोर पार्दै छन्।”
यस्तै, आन्दोलनका क्रममा संलग्न केही व्यक्तिहरूको भूमिका विवादास्पद बनेको समूहको दाबी छ। विज्ञप्तिमा भनिएको छ, “‘हामी नेपाल’ संस्थाका स्वयंसेवक सुदन गुरुङ केवल पानी बाँड्ने जिम्मेवारीमा थिए, तर अहिले वास्तविक जेन जीलाई छायामा पार्दै नेतृत्वकै भूमिकामा देखिनु शंकास्पद छ।”
समूहले सबै स्वतन्त्र युवाहरूलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा उभिन आह्वान गरेको छ। आन्दोलनका कार्यक्रमहरू क्रमिक रूपमा सार्वजनिक गरिने जनाइएको छ।




