काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सानेपास्थित पार्टी मुख्यालयमा सुरु हुनुअघि सम्पूर्ण क्षेत्र कडा निगरानीमा राखिएको छ।
हालै जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका सभापति शेरबहादुर देउवा पहिलोपटक पार्टी बैठकमा सहभागी हुन लागेका कारण सुरक्षा सतर्कता थप गरिएको हो। पार्टी कार्यालय वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्, भने प्रहरीसँगै तरुण दल र नेविसंघका कार्यकर्ताहरु पनि स्वयंसेवी सुरक्षाकर्मीको भूमिकामा उभिएका छन्।
बैठकमा सहभागी हुन कांग्रेस नेताहरु पार्टी कार्यालयतर्फ आइरहेका छन्। संवेदनशीलता भन्दै केन्द्रीय सदस्यहरुलाई आफ्ना सवारीसाधन कार्यालयभित्र प्रवेश गर्न नदिइएको छ — उनीहरुले बाहिरै पार्किङ गरी पैदल प्रवेश गर्नुपरेको छ।
पत्रकारहरुमाथि पनि आवागमन नियन्त्रण गरिएको छ। सानेपा परिसर अहिले देउवाको आगमनको प्रतीक्षामा चहकिलो तर कडा निगरानीमुनि छ।




