देश

आगामी सरकारको नेतृत्वको विषयमा जंगीअड्डाबाहिर नाराबाजी,भोलि बिहान सम्पर्कमा आउन सेनाको निर्देशन

काठमाडौं। आगामी सरकारको नेतृत्वको विषयमा असन्तुष्टि देखाउँदै जंगीअड्डाबाहिर नाराबाजी गरिरहेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन निर्देशन दिएको छ।

सैनिक प्रतिनिधिले माइकिङ मार्फत युवाहरूलाई जानकारी दिँदै भनेका छन्, “को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला। एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला।”

बुधबार दिउँसो जंगीअड्डाभित्रका छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम नेतृत्वकर्ताको रूपमा प्रस्ताव गरिएको थियो। तर, बाहिर भेला भएका युवाहरूले यसविरुद्ध नाराबाजी गरे। कतिपयले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितका अन्य व्यक्तिहरूको नामसमेत चर्चा गरेका छन्।

सैनिक स्रोतका अनुसार, यो कदम आन्दोलनको शान्तिपूर्ण ढाँचामा व्यवस्थापन र नेतृत्वको स्पष्टता सुनिश्चित गर्न उठाइएको हो। सेनाले जेनजी प्रतिनिधिहरूलाई व्यक्तिगत रूपमा समन्वयमा आउन आग्रह गरेको छ, ताकि आगामी सरकार गठन प्रक्रियामा कुनै भ्रम वा विवाद उत्पन्न नहोस्।

यस्तै धरानका मेयर हर्क साङपाङ पनि काठमाडौं आएका छन् । उनले पनि आफू प्रधानमन्त्री हुन तयार रहेको भन्दै बताउँदै आएका छन् । उनले भने, मलाई प्रधानमन्त्री बन्न काठमाडौं आउनुप¥यो भनेर आएको अहिले कुरा बाङ्गो चल्न थाल्यो ।अन्तरिम सरकारको नेतृत्वका लागि जेन जी समूहले व्यक्ति छान्ने क्रममा अहिलेसम्म धेरैले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति मत जाहेर गरेका छन् भने हर्क साम्पाङ्ग र कुलमान घिसिङ्गले पनि यही मेसोमा प्रधान सेनापतिसङ्ग सल्लाह गरिसकेका छन् । सोही लाइनमा रहेका अर्का सागर ढकालले भने प्रधानमन्त्री बन्न सजिलो नभएकोले पहिले संविधान,कानुन हेर्न सुझाएका छन् । उनले कोही पनि तयार नभए आफू मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएका छन् । धेरैले आफैँलाई अघि सारेकोतर्फ इङ्गित गर्दै उनी भन्छन्, ‘म त्यो लाइनमा छैन ।’ उनले सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै जेन जीहरुलाई सुझाएका छन्, ‘प्रधानमन्त्री छान्नको लागि कानुन विधि पद्धति,संविधान हेर्नुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *