काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन नसकिने बताएका छन्। उनका अनुसार नियमनको ढाँचा तयार नगरी सञ्जाल खोल्दा समस्या झन् बढ्ने भएकाले तत्कालको लागि सम्भव छैन।
मन्त्रिपरिषद् बैठकअघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले प्रतिबन्ध फिर्ता गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीलाई आन्दोलनकारीको माग सम्बोधन गर्न तत्काल सञ्जाल खोल्ने प्रस्ताव राखेका थिए।
तर, ओलीले जवाफ दिँदै भने, “कम्पनीहरूले खुलेआम दर्ता गर्न अस्वीकार गरिरहेका छन्। त्यसैले नियमन नगरी सञ्जाल खोल्न सकिँदैन।”
बैठकमा गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकले समेत प्रतिबन्ध हटाउन सुझाव राखेका थिए। तर प्रधानमन्त्री ओली आफ्नो अडानमा अडिग रहे।
यसैबीच, बैठकपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ।




