काठमाडौं । सोमबार भएको ‘जेनजी’ प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाबारे छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।
साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले जानकारी दिँदै समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए। सरकारको तर्फबाट यस समितिले घटनाबारे तथ्यसहित प्रतिवेदन पेस गर्नेछ।
यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक भइरहेकै समयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरी सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गरेका छन्। फोन सम्पर्कको समयमा कांग्रेसको शीर्ष नेताहरूको बैठक बुढानीलकण्ठमा जारी थियो।
गृह मन्त्रालयका प्रवक्ता आन्द काफ्लेका अनुसार सोमबारको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्। देशभरका १३ अस्पतालमा ३४७ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो घटनाले सरकारमाथि दबाब बढाएको छ भने सामाजिक सञ्जाल बन्द निर्णयसँगै राजनीतिक संवादको आवश्यकता थप बलियो रूपमा सतहमा आएको देखिन्छ।




