काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताए ।
उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ । निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरु पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने बताए ।
उनले भने– ‘दक्षिण एशियाका थुप्रै देशहरुमा समयमा आवधिक निर्वाचन हुँदैन । हाम्रोमा हुन्छ । यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन । आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ । हाम्रोमा राम्रै निर्वाचन हुन्छ । हाम्रो इलेक्शन फेयर हुन्छ, फ्रि हुन्छ । सरकारको तर्फबाट विधेयकको रुपमा आउँदा अहिले आएका कतिपय कुराहरु हटेर आउनसक्छ । यसमा ख्याल गर्नुपर्छ । संसदबाट फेरि थपेर पठाउन हामी सक्छौँ । आवश्यकताका आधारमा हामीले विधेयकमा राम्रै काम गरेका छौँ ।’
महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्नेकुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए । मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको बताए ।




