देश

संघीयताको समस्या प्रदेशमा होइन, संघमै छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको वास्तविक चुनौती प्रदेशमा नभई संघमै रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले देश संघीय शासनतर्फ अघि बढिसक्दा पनि संघ सरकारले अझै संघीय अभ्यासलाई आत्मसात् गर्न नसकेको जिकिर गरे।

उनले संविधान संशोधनलाई काँग्रेस–एमाले नेतृत्वको सरकारको प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिँदै, “संविधान संशोधनमा संख्या वा बहानाको कुरा गर्न पाइँदैन, जोखिम छ भने मुख्य शक्तिले नै उठाउनुपर्छ,” भने।

थापाले उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्षलाई एउटै पदमा सीमित गर्ने, विभिन्न आयोगलाई राष्ट्रिय मानव अधिकार आयोग अन्तर्गत ल्याउने तथा जिल्ला समन्वय समिति खारेज गर्ने विषयमा समेत बहस अघि बढाउनुपर्ने सुझाव दिए।“संविधान संशोधन कसरी अघि बढाउने भन्नेमा छलफल गर्न सकिन्छ, तर बहस सुरु गर्नैपर्छ,” उनले भने।

महामन्त्री थापाले संसदलाई अझ समावेशी बनाउने, स्थिर नेतृत्वका लागि पाँच वर्षसम्म एउटै दलले सरकार सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने तथा न्यायपालिकामाथि उठेका प्रश्नहरूबारे गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *