काठमाडौं । नौ वर्षदेखि रोकिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशन मंसिरको दोस्रो सातामा हुने निश्चित भएको छ। तीन वर्षदेखि अध्यक्ष पदमा रहेका दुजाङ शेर्पाले अब भने बिदा हुने समय आएको बताएका छन्।
शेर्पाका अनुसार विधान संशोधन प्रक्रिया पूरा भइसकेको छ र पार्टीले मंसिर दोस्रो साता महाधिवेशन गर्न निर्देशन दिएको छ। अब नेविसंघ महाधिवेशनमा जानेछ, त्यसपछि मलाई पनि विद्यार्थी आन्दोलनबाट बिदा भएको देख्न पाउनुहुन्छ, उनले भने।
शेर्पाले आफ्नो नेतृत्वमा लामो समयदेखि रोकिएको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)निर्वाचन सम्पन्न गराइएको उल्लेख गर्दै त्यसले विद्यार्थी आन्दोलनलाई पुनर्जीवन दिएको दाबी गरे। तर महाधिवेशन हुन नसक्नुमा विभिन्न आन्तरिक चुनौतीहरूको हवाला दिए। अरू संगठनले महाधिवेशन गर्दा पनि हामी किन गर्न सकिएनरुू भन्ने प्रश्नमा उनले नेविसंघको आकार, वैचारिक विविधता र संस्थागत जटिलता कारण देखाए।
पार्टीको हस्तक्षेपबारे प्रश्न गर्दा उनले महाधिवेशन ‘पार्टीको पनि मिनी महाधिवेशन हो’ भन्दै पार्टीको भूमिका स्वाभाविक भएको बताए। तर उनले पार्टीभित्रकै अन्तरसंघर्षले ढिलाइ गराएको पनि स्वीकारे । विधान निर्माणबारे आलोचना भइरहँदा उनले सबै केन्द्रीय सदस्य र जिल्लाका अध्यक्षहरूसँग छलफल गरिएको दाबी गरे। यद्यपि, विधान के–के परिमार्जन भयो भन्ने जानकारी आफूलाई अझै नपुगेको बताए।
नेविसंघ चिठीको भरमा चलिरहेको भन्ने आरोपलाई खारेज गर्दै उनले धेरै जिल्लामा वर्षौँदेखि नभएको अधिवेशन गराएको बताए। संयोजक तोक्दा पार्टी र स्थानीय नेतासँग समन्वय गरिएको पनि उल्लेख गरे। कलमभन्दा मसाल भारी पारेको भन्ने आरोपमा भने उनले “शैक्षिक बहसमा सक्रिय सहभागिता जनाएका छौँ, कलम बिर्सेका छैनौँ” भन्दै तीव्र प्रतिवाद गरे। त्रिवि उपकुलपति कार्यालयमा भएको तोडफोडप्रति उनले खेद प्रकट गरे र त्यसपछि स्ववियुका लागि त्इच् तयार गरिएको जानकारी दिए।
स्ववियु नेताहरूको अनुशासनहीनता र संगठनको नाममा व्यक्तिगत स्वार्थको आरोपलाई गम्भीर रूपमा लिँदै प्रमाण पाए कडा कारबाही गर्ने बताए। उपकुलपति चयनमा मेरिट र प्रतिस्पर्धाको पक्षमा उभिएको भन्दै उनले “संस्थागत बलियोपन” मा जोड दिए। नयाँ उपकुलपति दीपक अर्यालको क्षमता स्वीकार्दै पनि प्रक्रिया ठीक नभएकोमा असन्तोष व्यक्त गरे।
सरकारी भ्रष्टाचार र महँगी जस्ता मुद्दामा पनि आवाज उठाएको स्मरण गराउँदै उनले अहिले नेविसंघ शैक्षिक आन्दोलनमा बढी केन्द्रित रहेको बताए। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेतृत्वको तीनवर्षे कार्यकालमा संगठनलाई संस्थागत दिशातर्फ अघि बढाएको दाबी गरे पनि उनले स्वयं स्वीकार गरेझैं, धेरै चुनौती, ढिलासुस्ती र आलोचना पनि उनका साथमा रह्यो। अब भने मंसिरमा हुने भनिएको महाधिवेशनसँगै उनले आफूलाई संगठनबाट बिदा दिन खोजिरहेका छन्। अब बल्ल नेविसंघ ट्र्याकमा फर्किन लागेको छ, शेर्पाको निष्कर्ष थियो।




