राजनीति

सडक संघर्षको तयारी रहन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका माग पूरा गर्न सडक संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा ‘नेपाल मतदाता अधिकार मञ्च’ले निर्वाचनसम्बन्धी कानुन संशोधनका लागि सुझावसहित ध्यानाकर्षण पत्र बुझाएपछि बोल्दै अध्यक्ष प्रचण्डले परिवर्तनका लागि सडक संघर्षको विकल्प हुन सक्ने संकेत गरे।

“नेतालाई माग बुझाएरमात्र परिवर्तन सम्भव हुँदैन,” उनले भने, “जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि तयारी रहनुहोस्।”

प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो र अपारदर्शी भएको भन्दै यसको संशोधन जरुरी रहेको धारणा राखे। उनले सांसद भएर मात्र मन्त्री वा प्रधानमन्त्री बन्ने व्यवस्था नै भ्रष्टाचारको स्रोत भएको आरोप लगाए।

“मुहान धमिलो हुँदा धाराबाट सफा पानी खोज्न मिल्दैन,” भन्दै उनले प्रत्यक्ष कार्यकारी प्रणाली आवश्यक रहेको बताए। उनले जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए। मतदाता अधिकार मञ्चले निर्वाचन सुधार र जनताको प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष राखेको थियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *