काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम गुप्ताले प्रधानमन्त्री समक्ष राजीनामा दिएपछि संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरिएको हो।
नवनियुक्त मन्त्री भगवती न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्नेछिन्। यसअघि अडियो टेपमार्फत घुस लेनदेन प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताले आजै पदबाट राजीनामा दिएका थिए।
न्याैपाने एमालेकी तिनै नेता हुन् जो २०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । त्यसपछि उनलाई राष्ट्रियसभामा ल्याइएको थियो । अहिले उनी राष्ट्रियसभामा एमालेकी प्रमुख सचेतक थिइन् ।





