काठमाडौं । संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु हुने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध कायमै रहने संकेतपछि सभामुख देवराज घिमिरेले शान्तिपूर्ण व्यवहार अपनाउन आग्रह गरेका छन्।
शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर सभामुखले ‘कार्यक्रम अवरोध नगर्नु र प्रधानमन्त्री बोलिरहँदा होहल्ला नगर्नु’ भन्दै सचेत गराएका हुन्। उनले विरोधको शैली परिवर्तन गर्न र संवादलाई प्रभावित नगर्न सुझाव दिएका थिए।
तर रास्वपाले आफ्नो अडान यथावत् राख्दै माग पुरा नभएसम्म विरोध जारी रहने स्पष्ट पारेको छ। यसले गर्दा प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा असर पर्ने देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट संसदतर्फ प्रस्थान गरिसक्दा पनि, कार्यक्रम सहज रूपमा सञ्चालन हुने सम्भावना कम देखिएको छ। एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले समेत रास्वपालाई संसदमा मर्यादित ढंगले प्रस्तुत हुन अनुरोध गरेका छन्।




