काठमाडौं। भारतले पाकिस्तानमा क्षेप्यास्त्र हमला गरेपछि भारतीय विदेशमन्त्री एस जयशङ्करले विश्व समुदायबाट आतङ्कवादविरुद्ध शून्य सहनशीलताको अपेक्षा गरेका छन्। तर यस घटनालाई लिएर विश्व समुदाय विभाजित हुने सङ्केत देखिएको छ। यसैबीच, घटना भएको दिनभर नेपालले कुनै औपचारिक प्रतिक्रिया दिएन बरु आन्तरिक र बाह्य चुनौतीबारे छलफल गर्न सुरक्षा परिषद्को बैठक आयोजना गर्यो।
नेपालको प्रतिक्रिया र यसले कसको पक्ष लिन्छ भन्ने विषयमा धेरैको चासो छ। सत्ताधारी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले कूटनीतिक भाषामा आफ्नो धारणा राख्नुपर्ने बताएका छन्। तर उनले भारतको कदमप्रति समर्थनको अपेक्षा र सुझाव दिएका छन्।
महतले भने, “भारतले जहाँ आतङ्कवादीले तालिम लिन्छन्, जहाँबाट कश्मीरमा आतङ्कवादी गतिविधि चलाइएको छ र निर्दोष मानिसहरू मारिएका छन्, त्यहाँ केन्द्रित गरेर (आक्रमण) गरेका छौँ भनेको छ।” पार्टी प्रवक्ताको हैसियतले उनले खुला रूपमा भारतीय कदमप्रति समर्थन जनाए र नेपालले पनि आतङ्कवादविरुद्ध उभिनुपर्ने बताए। उनले पाकिस्तान पनि आतङ्कवादबाट पीडित रहेको स्मरण गर्दै पाकिस्तानले पनि आफूलाई आतङ्कवादविरुद्ध उभ्याउनुपर्ने सुझाव दिए।
भारतीय रक्षा मन्त्रालयले ‘अपरेसन सिन्दूर’ नामको कारबाही दुई साताअघि पहलगाममा एक नेपाली सहित २६ जनाको हत्याको बदला स्वरूप गरिएको जनाएको छ। भारतले ‘आतङ्कवादी’ का तालिम केन्द्र र आश्रयस्थललाई निशाना बनाएको दाबी गरेको छ। कांग्रेस नेता महतले भारत युद्धमा जाने मनसायमा नरहेको विश्वास व्यक्त गर्दै पाकिस्तानलाई आतङ्कवादी गतिविधि रोक्न सुझाव दिए।
एमालेको फरक मत: आक्रमण रोक्न भारतलाई सुझाव?
तर प्रमुख विपक्षी दल नेकपा एमालेको धारणा कांग्रेसको भन्दा फरक छ। एमालेको परराष्ट्र मामिला विभाग प्रमुख तथा पूर्व परराष्ट्र मन्त्री रघुवीर महासेठले पाकिस्तानमाथि आक्रमण गर्ने भारतीय कदमको समर्थन गर्न नसकिने बताए।
भारत-पाकिस्तान द्वन्द्व दक्षिण एसिया र दक्षिण पूर्वी एसिया दुवैका लागि नराम्रो हुने उनको बुझाइ छ। महासेठले दुवै पक्षलाई संयमित भएर तत्काल आफ्ना गतिविधि बन्द गर्न र शान्ति प्रक्रिया अघि बढाउन आग्रह गरे। उनले युद्ध चर्काउने काम गर्न नहुनेमा सचेत गराए। पाकिस्तानमा आक्रमण गरेर भारतले युद्ध चर्काउन खोजेको भन्न नचाहे पनि उनले यस्ता गतिविधि रोकिनुपर्ने बताए। “कुनै पनि बहानामा युद्ध गर्नु हुँदैन, भारतले गरेको छ भने भारतले रोक्नु पर्छ पाकिस्तानले गरेको छ भने उसले पनि रोक्नु पर्यो,” महासेठले भने। उनले एक देशले अर्को देशको सार्वभौमिकता र राष्ट्रियता स्वीकार गर्नुपर्ने उल्लेख गर्दै युद्धमा कसैको पक्ष लिनु नेपालको लागि राम्रो नहुने बताए।
विदेश नीति अनुकूल कि प्रतिकूल?
नेपालको विदेश नीति असंलग्नता र पञ्चशीलमा आधारित छ। सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले आतङ्कवाद विरुद्धको लडाइँको नाममा पनि भारतलाई समर्थन गर्न नमिल्ने कतिपयको मत छ। तर कांग्रेस प्रवक्ता महतले असंलग्नताको अर्थ आतङ्कवादप्रति तटस्थ रहनु नभएको बताए। पहलगाममा नेपाली सहित २६ जनाको हत्या भएको र भारतमा पटक पटक भएका आक्रमणमा पाकिस्तानको संलग्नता देखिएको अवस्थामा तटस्थ रहनु आतङ्कवादलाई प्रश्रय दिनु जस्तै हुने उनको तर्क छ।
तर एमाले नेता महासेठले भारत र पाकिस्तान दुवै नेपालका मित्र भएकाले कसैको पक्ष लिन नहुने बताए। पाकिस्तानबाट भारतमा आतङ्कवादी गतिविधि भएको भए त्यसको विरोध गर्नुपर्ने भए पनि त्यसको बहानामा युद्ध चर्काउनु राम्रो नहुने उनको भनाइ छ।
सत्ता पक्षमा विभाजनको जोखिम कति?
महासेठको दल एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। दुई सत्ता साझेदार दलबीच यस विषयमा देखिने फरक मतले सरकारमा फाटो आउने सम्भावना देख्नेहरू पनि छन्। तर नेता महतले त्यस्तो अवस्था नआउने विश्वास व्यक्त गरे। एमाले नेता महासेठले पनि मतभेद फाटोमा परिणत हुनेमा अविश्वास प्रकट गरे। कांग्रेसले पनि असंलग्न परराष्ट्र नीति अङ्गालिरहेको उल्लेख गर्दै उनले युद्धमा कांग्रेसले कुनै एक देशको समर्थन नगर्ने विश्वास व्यक्त गरे। महतले भने असंलग्नताको अर्थ आतङ्कवादीप्रति आँखा चिम्लिनु नभएको तर्क दोहोर्याए।
चौथाईवालेको भ्रमणको असर?
महासेठ र महत दुवै पूर्व परराष्ट्र मन्त्री हुन्। हालसालै नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाईवालेलाई भेट्ने डेढ दर्जन नेतामा महत पनि थिए। कतिपयले चौथाईवाले पाकिस्तानमाथि आक्रमण गर्ने सङ्केत दिँदै समर्थन जुटाउन नेपाल आएको बताएका छन्। यद्यपि, चौथाईवालेलाई भेटेका जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार उनीहरूबीचको छलफलमा यस विषयमा खासै कुराकानी भएन। कतिपयले चौथाईवालेको भ्रमणकै कारण नेपालको तत्काल प्रतिक्रिया नआएको अनुमान गरेका छन्। कांग्रेस नेता महतले भने पहलगाममा भएको हत्याका कारण सुरक्षा संवेदनशीलता बढेको र चौथाईवालेले समर्थन नखोजेको बताए।बीबीसी




