काठमाडौं । नेपाली कांग्रेसभित्र अहिले महाधिवेशनको चर्चा चुलिएको छ। तर मिति भने अझै तय भइसकेको छैन। एकातिर नेताहरू देश दौडाहामा छन्, अर्कोतर्फ महाधिवेशनको स्पष्ट समय तोकिएको छैन।
महामन्त्री गगन थापा र नेता डा. शेखर कोइराला देशका विभिन्न जिल्लामा पुगेर महाधिवेशनबारे सक्रिय देखिएका छन्। थापाले क्षेत्रीय सम्मेलनहरूमा निरन्तर सहभागी हुँदै १५औँ महाधिवेशन समयमै हुने दाबी गर्दै आएका छन्।
गुल्मीमा आयोजित कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै पुगेका थापाले पार्टीको सदस्यता नवीकरण र विधान सम्बन्धी तयारी धमाधम भइरहेको बताएका थिए। कांग्रेसको अधिवेशन हुन्छ, ढुक्क हुनुहोस्, भन्दै थापाले नेतृत्व चयनको बहस अहिले नै नगर्न आग्रह पनि गरे।
‘
धनकुटाको कार्यक्रममा थापाले स्पष्ट संकेत दिएका थिए— “०८३ मंसिरभन्दा अघि महाधिवेशन गर्नुपर्छ। सकियो भने ०८२ चैतमै गरौं। तर ०८३ को मंसिरबाट ढिलो गर्न सकिँदैन।” उनका नजिकका नेता शंकर तिवारीले पनि यही धारणा पुष्टि गर्दै, ०८३ मंसिरमा महाधिवेशन हुन्छ भन्ने उनको अभिव्यक्तिमा स्पष्ट झल्किन्छ, भने।
पार्टी सभापति शेरबहादुर देउवा भने आफूले सरकारको नेतृत्व नगरेसम्म महाधिवेशन सम्भव छैन भन्ने संकेत गर्दै आएका छन्। पार्टीका पदाधिकारीहरूसँगको छलफलमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले ०८३ असारमा सत्ता हस्तान्तरण गर्ने वाचा गरेको चर्चा गरेका छन्। त्यसअघि महाधिवेशन भयो भने आफूप्रति असहज परिस्थिति सिर्जना हुनसक्ने उनको संकेत थियो। अहिलेको सरकारलाई पार्टीको अधिवेश गर्ने भन्दा पनि देशलाई सही मार्गमा हिँडाउन कस्ता रणनँीति कांग्रेसले बनाउनुपर्छ भन्ने आन्तरिक बहसमा रहेका छन् सभापति देउवा । विगतको तुलनामा अहिले बढी चुनौती थपिएको छ । राजावादीको अन्दोलन, विभिन्न सडक आन्दोलन ,संविधान संशोधनको विषय र नयाँ नेतृत्वले चाहेको विषय । सो विषयमा आन्तरिक रुपमा सभापति देउवाले नेता तथा कार्यकर्ताहरुसँग छलफल तिव्र बनाउन थालेका छन् । सभापति देउवाले महाधिवेशनको समय अझै भएको भन्दै संस्थापन तथा संस्थापनइतर समुहका नेताहरुलाई सुझाव दिदैँ आएका छन् । उनले आगामी निर्वाचन एकल बहुमत ल्याउनेगरी काम गर्न आवश्यक भएको बताए ।
संस्थापनइतर नेताहरू महाधिवेशनको मिति अलमल गरिँदैछ भन्दै आलोचक बनेका छन्। चैत १५ गते विमलेन्द्र निधिको निवासमा भएको भेलामा निधि, शशांक कोइराला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र कृष्ण सिटौलाले नेतृत्वको निष्क्रियतालाई दोषी ठहर गरे। “पदाधिकारीहरूले नेतृत्व दिन नसक्दा महाधिवेशन अन्योलमा पर्न थालेको छ,” निधिले बताए। नेता शेखर कोइरालाले पनि पार्टीभित्र महाधिवेशन सार्ने प्रयास भइरहेको भन्दै चेतावनी दिएका छन्। “यदि ०८२ मंसिरमा महाधिवेशन भएन भने पार्टी क्रमशः कमजोर हुँदै जान्छ,” उनको तर्क छ।
कांग्रेस महाधिवेशनका विषयमा नेताहरूको दौडधुप तीव्र छ, तर एकीकृत धारणा अझै बनेको छैन। एकातर्फ ‘समयमै हुन्छ’ भन्ने आश्वासन, अर्कोतर्फ नेतृत्वको अन्योलपूर्ण संकेतले महाधिवेशनको मिति अझै अध्यारोमै राखेको छ। अबको केही हप्तामा कांग्रेसभित्रको राजनीतिक दिशा कता मोडिन्छ भन्ने जिज्ञासा झन् चुलिएको छ।




