राजनीति

महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाबारे तत्काल निर्णय नगर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका आफ्ना ७ भ्रातृ संस्थाको विषयमा तत्काल निर्णय नगर्ने भएको छ। संस्थाहरूलाई तदर्थ समितिबाट सञ्चालन गर्ने कि विघटन गर्ने भन्नेबारे पार्टीले छलफलपछि मात्र टुंगो लगाउने जनाएको छ।

कांग्रेसले आफ्ना १० भ्रातृ संस्थालाई चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। तर तीमध्ये तीन संस्थामात्रै समयमै महाधिवेशन गर्न सफल भए भने बाँकी ७ संस्थाले पार्टीको निर्देशन पालना गर्न सकेनन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, केही दिनभित्र पार्टी बैठक बोलाएर बाँकी ७ संस्थाबारे निर्णय गरिनेछ। तर हालसम्म कुनै पनि संस्था भङ्ग गर्नेबारे छलफल भएको छैन।

महाधिवेशन गर्न असफल संस्थामा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ परेका छन्। यी संस्थामा नेतृत्वका विवाद र आन्तरिक गुटबन्दीका कारण महाधिवेशन रोकिएको कांग्रेस स्रोतले जनाएको छ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन सहज बनाउन विशेष निर्देशन समिति गठन गरेका थिए, तर पटक–पटक म्याद थप्दा पनि परिणाम आएन। अब संस्थाहरूको भविष्यमाथि पार्टीको निर्णय कस्तो आउँछ भन्ने प्रतीक्षामा सबैको नजर छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *