अर्थ

ट्रंकलाइन र डेडिकेटेड फिडरको बक्यौता उठाउन प्राधिकरणलाई उर्जामन्त्री खड्काको निर्देशन्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई ट्रंकलाइन र डेडिकेटेड फिडरको बक्यौता उठाउन निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा। रामप्रसाद धिताल, र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई बोलाउँदै मन्त्री खड्काले तत्काल बक्यौता संकलन गर्न निर्देशन दिएका हुन्। सो बक्यता उठाउन निर्देशन दिदैँ मन्त्री खड्काले ट्रंकलाइन र डेडिकेटेड फिडरको बक्यौता रकम अब उठाइने छुट कसैलाई नदिने भन्दै उद्योगीहरूलाई स्पष्ट सन्देश दिएका छन् ।

विवादको मूल विषय २०७३ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत् महसुलसँग सम्बन्धित छ। उद्योगीहरू टिओडी (टाइम अफ डे) मिटरको आधारमा मात्र महसुल तिर्न तयार भए पनि प्राधिकरणले टिओडी मिटर समयमै नदिएपछि विषय झन् जटिल बन्दै गएको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित अध्ययन समितिले दिएको प्रतिवेदनको आधारमा बक्यौता उठाउन निर्देशन दिइएको हो। प्रतिवेदनमा टिओडी मिटरको डेटा प्रयोग गरेर मात्रै महसुल गणना गर्न सुझाव दिइएको छ।

यसअघि पनि कुलमान घिसिङ कार्यकारी निर्देशक रहँदा बक्यौता उठाउन निर्देशन दिइएपनि, कार्यान्वयनमा आउन सकेको थिएन। मन्त्री खड्काले दिएको निर्देशन अनुसार नै कार्यकारी प्रबन्ध निर्देशक शाक्यले तत्काल सो बक्यौता उठाउन नयाँ कदम चाल्नुपर्ने देखिएको छ ।

उद्योगीहरू र प्राधिकरणबीचको यो रस्साकस्सी कहिले टुंगिन्छ भन्ने प्रतिक्षामा सरकार पनि छ र व्यवसायिक समुदाय पनि।

नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्व पाएका शाक्यले कसरी उठाउँलान् २२ अर्ब ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *