राजनीति

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने

काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो ।

कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केहीबेरमा उम्मेवारी ददर्ताको तयारी छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् ।

जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन् । एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् । जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।

एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्ने भएका छन् । आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म कांग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिति तथा केन्द्रको सत्तागठबन्धनको नीतिअनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेद्वार नउठाएको एमाले जिल्ला कमिटी उपाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

जिल्लामा उपनिर्वाचन हुने मोलुङ–५ को वडाध्यक्षमा भने स्वच्छ प्रतिस्पर्धा हुने उपाध्यक्ष न्यौपानेको भनाइ छ । “जिसस प्रमुखको दाबेदार पार्टीभित्र थुप्रै हुन्छन् , तर मतदाता सङ्ख्याको अङ्कगणित र केन्द्रीय सत्तासाझेदार दल भएका हिसाबले भिड्नुभन्दा मिल्नु नै उपयुक्त ठानेर जिससमा उम्मेदार अघि सारिएन”, उपाध्यक्ष न्यौपानेले भने , “मोलुङ–५ को वडाध्यक्षमा हामी कांग्रेससँगै भिड्दैछौँ ।” मोलुङ–५ मा कांग्रेसको विरासत तोड्ने गरी एमालेले सर्वसम्मत वडाबाटै उम्मेदवार तय गरेको उनको दाबी छ ।

मोलुङ–५ एमालेका केन्द्रीय सदस्य तथा दुई पटक सङ्घीय सांसद बनेका नेता यज्ञराज सुनुवारको वडा भएकाले पनि एमालेलाई जित्नैपर्ने दबाब छ । यद्यपि यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो । मोलुङ–५ का वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गङ्गाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन् । यो वडामा राप्रपा र रास्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *