गान्धीजीलाई संसारले लाखौँ वर्षसम्म सम्झने कारण नै अहिंसाले समाज रुपान्तरणको विधि हो । संयुक्त राष्ट्रसंघले अक्टुबर २ तारिखलाई अन्ताराष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउन आफ्ना सदस्य देशहरूलाई गम्भीरताका साथ आह्वान गरेको छ । अन्ताराष्ट्रिय शान्ति प्राप्तका लागि मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी अर्थात् भारतका राष्ट्रपिताले प्रयोग गर्नुभएको अहिंसा नै आज पनि उत्तिकै सान्दर्भिक छ भन्ने कुरामा विश्व मञ्चलाई विश्वास रहेको छ ।
भनिन्छ—जब कुनै पनि प्राणी संसारमा जन्मन्छ, ऊसँग आहार, निन्द्रा, भय र मैथुनका विशेषताहरू रहन्छन् । अरूले त्यसलाई अव्यक्तरुपमा ग्रहण गरेका होलान् ,वा अनुसन्धानबाट जानकारी पाइएला तर मानिसमा त यो स्पष्ट देखिन्छ । यिनै विशेषताबाट मानव जातिको विकासक्रम अगाडि बढेको पनि छ र तिनैका कारणले मानव जातिको अकल्याण भएको पनि पाइन्छ । गान्धीलाई महात्मा पनि तिनै मानवीय विशेषताहरूमा उहाँले विजय प्राप्त गर्नु भयो । अर्थात् इन्द्रिय ग्रामबाट वशीभूत नभई सोही इन्द्रिय ग्रामलाई नै आप्mनो कर्मले वशीभूत पार्नुभयो । उहाँले भोकबाट मुक्त पाउन उपवास राखिरहनु भयो , भयबाट मुक्त हुनका लागि अहिंसाको अचुक सिद्धान्त तयार गर्नुभयो, निद्राबाट मुक्त पाउनका लागि भजनको एकाग्रतालाई अपनाउनु भयो र मैथुनलाई आफूले विजय प्राप्त गरेको अनुभूति अरूलाई दिन सफल हुनु भयो , सायद त्यसैका कारणले उहाँलाई महात्माको रुपमा विश्वले उहाँको निधनपश्चात् पनि मानिरहेको हुनुपर्दछ ।
आज विश्वमञ्चको रुपमा रहेको संयुक्त राष्ट्रसंघले विश्वमा देखिने अनेकौँ राजनीतिक , सामाजिक, साँस्कृतिक तथा आर्थिक समस्याहरूको समाधानार्थ तत्कालै हिंसात्मक प्रवृत्ति जुन बढिरहेको पाउँछ, त्यसबाट वाक्क भएर पनि अहिँसात्मक क्रियाकलापबाट समाधान निकाल्नका लागि पनि यो दिवसको महत्वलाई आत्मसात गरेको हुनुपर्दछ । आजका सम्पूर्ण समस्याहरूलाई हामीले गम्भीरताका साथ मनन ग¥यौँ र तिनको समाधानलाई शान्तिपूर्ण माध्यमबाट समाधान ग¥यौँ भने ती समस्याहरू फेरि फेरि समस्याका रुपमा बल्झिएका पाउँदैनौँ ।
आजभन्दा २०० वर्ष पहिलेको संसार अहिलेभन्दा पनि शक्ति केन्द्रित थियो । जोसँग बढी सेना छन् हतियार छ, उसैको जित हुन्थ्यो । कुनै पनि बेला घाम नअस्ताउने मानिएको लाखाँै सेनाले सुसज्जित तथा संसारका अतिउत्तम हतियारबाट प्रशिक्षित अनि अरबौँ धन वैभवसहितको अङ्ग्रेजको शासनलाई एकजना भारतीयले अहिंसाको माध्यमबाट भारत तथा दक्षिण अफ्रिकालाई अङ्ग्रेजको उपनिवेशबाट मुक्त गर्नु भएको थियो । व्यक्तिको सम्पूर्ण विकासका लागि अति आवश्यक शान्ति, सहिष्णुता र आत्मानुशासनको प्राप्ति हुने सरल माध्यम भनेको नै अहिंसाको ज्योतिले हो भन्ने कुरा त्यसपछिका दिनमा प्रमाणित भयो । कतिसम्म भने शान्तिपूर्ण धर्ना र हडतालमा कतै कसैले त्यही अहिंसात्मक कार्यक्रमलाई बिथोल्न हिंसात्मक कार्य गरे पनि त्यसमा आफ्नै दायित्वबोध गर्नुभएको थियो गान्धीले र तत्काल आफ्ना कार्यक्रमलाई रोकी स्थितिको समीक्षा गर्नुहुन्थ्यो ।
गान्धीजीको स्पष्ट धारणा थियो—सिद्धान्तविनाको राजनीति,श्रमविनाको सम्पत्ति,आत्मानुभूतिविनाको आनन्द, चरित्रविनाको ज्ञान,नैतिकताविनाको व्यापार ,मानवताविनाको विज्ञान तथा त्यागविनाको वन्दना । यिनै सिद्धान्तलाई आज पनि गान्धीजीको सिद्धान्तका रुपमा लिइन्छ र सात सामाजिक अपराधका रुपमा चिनिन्छ । आजसम्म गान्धीलाई सम्झने कुरा भनेको नै अहिंसाको राजनीतिबाट लोकतान्त्रिक लक्ष्य प्राप्त गर्नु हो । अहिंसाको महत्वलाई शिक्षा र जनजागरणमार्फत विश्वमा करोडौँ युवासम्म सन्देश प्रवाहित गरी शान्तिलाई संस्कृतिको रुपमा विकसित गर्नु हो ।
समाज रूपान्तरण एक जटिल कार्य हो । समाज जहाँ जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन चाहँदो रहेछ । समयको परिवर्तनसँगै र समकालीन अन्य समाजसँगै प्रत्येक समाजमा परिवर्तन अवश्यम्भावी छ । समयको पदचाप र जनताका आवश्यकतालाई सुन्ने र आत्मानुभूति गर्ने व्यक्तिको हातमा नेतृत्व आए या त्यस्ता व्यक्तिले समाज रुपान्तरणको जिम्मा लिएमा मात्र समाजले सही बाटो प्राप्त गर्न सक्दो रहेछ भन्ने कुरा आजको हाम्रो नेपालको परिदृश्यले पनि देखाइरहेको छ ।
महात्मा गान्धीको अहिंसाको बलमा अचिन्त्यरुपमा विश्वमा धेरै देशहरू जस्तै भारत र अफ्रिकाले औपनिवेशिक बन्धनबाट उन्मुक्ति पायो । खासगरी दक्षिण अफ्रिकामा परेको गान्धीवादको प्रभावको उपज नेल्सन मन्डेला आज पनि अहिंसाका पुजारीका रुपमा संसारभर सम्मानित हुनुहुन्छ । अहिंसाको चुरो कुरो रहेछ लोभबाट, लालचबाट र भयबाट मुक्ति । गान्धीले भारतका धर्मभीरु र शासनभीरु जनतालाई अहिंसाको सिद्धान्तमार्फत दिनुभयो भयबाट मुक्तिको सन्देश । लोभ, लालच र स्वार्थको गन्हाउने भयबाट आफैँमा मुक्ति प्राप्त गर्नु एउटा साह्रै ठूलो तपस्या हो । बाहिरी भयबाट मुक्ति पाउनका लागि आफैँमा एउटा ठूलो अठोटको आवश्यकता पर्दछ । सर्वप्रथम गान्धीजीले आफूलाई भयबाट मुक्त राख्नुभयो । कुनै पनि पदबाट मुक्त राख्नुभयो । सम्भावित पद र स्वार्थबाट आफूलाई मुक्त राख्नु भयो । आज पनि लोकतन्त्रको शासन व्यवस्थालाई अक्षुण्ण्य राख्न नेपालका बीपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई र दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाको जीवनीबाट लोकतन्त्रवादीहरुले सिकिरहेका छन् ।
सबैभन्दा ठूलो कुरो हो भय । गान्धीले त्यत्रा अङ्ग्रेजका सेनाबाट कसरी भारतीय जनतालाई सुरक्षित राख्नुभयो भने सर्वप्रथम मर्ने कुराको भयलाई मनबाट निकाल्न लगाउनु भयो र अहिँसात्मक तरिकाबाट अरूलाई परिवर्तन गर्नका लागि सबैलाई प्रेरित गर्नुभयो ।समाज रुपान्तरणको सबैभन्दा अन्योलग्रस्त र समस्याग्रस्त प्रश्न हो —केका लागि रूपान्तरण र कसरी रूपान्तरण र परिणाम के हो रुपान्तरणको ? भइरहेको समाजलाई अर्को कुनै विकल्पविना र कुनै अर्को मार्गचित्र विना बदल्ने भनेको कुइरोको काग हुनु हो । एउटा स्पष्ट मार्गचित्रमार्फत जनतालाई समाज रुपान्तरणको खाका दिन सक्दामात्र जनता जस्तोसुकै त्यागका लागि पनि तयार हुने रहेछ भन्ने कुराको पछिल्लो उदाहरण दक्षिण अफ्रिका नै हो।
आजको यस संसारमा सबै कुराको छिनोफानो हिंसात्मक रूपबाट वा हतियारबाट मात्र गर्ने जुन प्रवृत्ति बढिरहेको छ, यो कुसँस्कृतिबाट संसारका अरबौँ निर्दोष नागरिकलाई बचाउनका लागि पनि अहिंसाको संस्कृतिलाई विश्व राजनीतिमा प्रयोगको रुपमा लैजानु नै परेको छ । यसमा राष्ट्रसङ्घको प्रयास नै स्तुत्य हुन्छ । अहिंसाको लागि लोकतन्त्रका आधारभूत सिद्धान्तमा सबै देशलाई एकै ठाउँमा सहमति गराउनु नै पर्दछ । लोकतन्त्रका लागि अहिंसा र अहिंसा विश्व विकासका लागि भन्ने कुरामा राष्ट्रसङ्घ सहमत हुनु जरुरी छ । आज निरीहताका साथ राष्ट्रसङ्घ विश्वमा भएका हिंसात्मक कार्यलाई टुलुटुलु हेर्न बाध्य छ । यदि अहिंसा र शान्तिको पक्षमा विश्व जनमत तयार हुने हो भने मात्र राष्ट्रसंघले अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउन गरेको आह्वानले सार्थकता पाउने थियो ।
गान्धीले आफूलाई सत्यको प्रयोगशाला बनाउनु भएको थियो । सत्यका विपरीत असत्यलाई कहिले पनि स्वीकार गर्नु भएन । उहाँको आत्मकथालाई नै उहाँले सत्यको प्रयोग वा आत्मकथा भनेर भन्नु भएको थियो । त्यो आत्मकथामा सत्यलाई कसरी सानै उमेरदेखि नै उहाँले स्विकार्नू भएको थियो र पछिसम्म पनि सत्यको पक्षमा बोल्दा लेख्दा बरु गोली खाएर मर्नु परोस् भन्नुहुन्थ्यो । नभन्दै नाथुराम गोड्सेले सन् १९४८को जनवरी ३० तारिखका दिन गान्धीलाई गोली हाने मारेका थिए । गान्धीलाई दुई दिन अघि जस्तो त्यस्तो आत्मानुभूति भएको रहेछ कि उहाँले भन्नु भएको रहेछ, क्षमाभन्दा ठुलो दान केही छैन, पुण्य केही छैन , जस्तो कि कसैले मलाई गोली हानेर मार्छ भने पनि म उसलाई क्षमा दिन्छु र उसलाई कुनै पनि कारबाही नगर्न र क्षमा दिन सबैलाई अनुरोध गर्छु ।
त्यस्ता महात्मा जसले अहिंसाको बलले विश्व विजेता तथा कहिल्यै घाम नअस्ताउने साम्राज्यलाई अहिंसाको बलले भारतबाट लखेट्न सफल भयो । शान्तिका ती पुजारीको जन्म दिनमा हामीले, विश्वले सिक्ने कुरा हो, शान्ति अपरिहार्य छ व्यक्तिलाई , समाजलाई , राज्यलाई र विश्वलाई । अरूलाई रूपान्तरण गर्नु छ भने पहिले आफैँलाई परिवर्तन गर भन्ने महानवाणीका प्रणेता महात्मा गान्धी अर्थात् भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीको जन्मजयन्तीमा उहाँप्रति श्रद्धाञ्जली तथा विश्व अहिंसा दिवसको उपलक्ष्यमा विश्वमा देखिएका अशान्ति र युद्धको वातावरणलाई गान्धीको प्रेरणा मिलोस् , सर्वत्र शान्ति कायम रहोस् ।




