
२०८१ साउन १ गतेदेखि पशुपत्तिमा ‘बृहत कोटिहोम महायज्ञ’ शुरु भयो । कोटिहोममा पुगेर अधिकांश सहकारी संस्थाका सञ्चालकहरुले संस्थाको तर्फबाट भन्दै लाखौं रुपैयाँ दानस्वरुप दिएकाे देखियाे । जान्या पनि कति है !
बचतकर्ताको निक्षेप चाहिं फिर्ता नगर्ने अनि यस्तो कार्यक्रममा गएर यति रकम सहयोग गर्याैं भन्दै चर्चामा आउने । कतिसम्म नाटक, नौटंकी गरेका होलान् ।
देशभरका सहकारी समस्याग्रस्त अवस्थामा पुगेका छन् । अधिकांश सहकारीका सञ्चालक, अध्यक्ष भागिसकेका छन् । सञ्चालनमा रहेका सहकारीले समेत बचतकर्ताको रकम फिर्ता गरेको छैन ।
सहकारीकै कारण बचतकर्ताहरुको बिचल्ली भएको छ । सहकारीले निक्षेप फिर्ता नदिँदा उपचार नपाएर समेत कतिपय बचतकर्ताले ज्यानै गुमाउनुपरेको अवस्था छ ।
आफूले रकम जम्मा गरेको सहकारी एकाएक बन्द भएपछि वा त्यो ठाउँमा सहकारी नै नभएपछि अहिले बचतकर्ताहरु सञ्चालक, अध्यक्ष र कर्मचारीको घर खोज्दै हिँडेका छन् ।
३५ हजारबढी सहकारी संस्थाले करोडौं बचतकर्ताको खर्बौ रकम झ्वाम बनाइदिएको छ । उनीहरुलाई घर न घाटको स्थितिमा पुर्याइदिएको छ । अहिले कतिपय सहकारी सस्थाहका सञ्चालकहरू अर्बाैं बचत रकम हिनामिना गरेर देशै छोडेर भागिसके ।
त्यस्तै, कतिपय जेल जीवन बिताइरहेका छन् । कतिपय सहकारी सञ्चालकहरु अहिले पनि कार्यालयमै भेटिन्छन् । तर, बचतकर्ताको निक्षेप फिर्ता माग्दा उनीहरु भन्छन्, ‘हामी क्यास दिन सक्दैनौं । घरजग्गा, गाडी वा सेयर लिनुस् ।’
अनि एक लाख रुपैयाँ आना नपर्ने दुर्गम जिल्लाको जग्गालाई उनीहरु रू. ५०–६० लाख तोक्छन् । ८०–९० लाख पर्ने घरजग्गालाई तीन करोड भन्छन् ।
दुईदेखि पाँच लाखको सवारीसाधनलाई ४० लाख तोक्छन् । एक कित्ता सेयरकै पाँच हजार भन्छन् । सञ्चालकहरु बचतकर्तालाई भन्छन्, ‘तपाईंहरु पैसा थपेर यो मूल्यमा घरजग्गा, गाडी वा सेयर लिनुस् । नभए हामी पैसा दिन सक्दैनौं ।’ अनि यो सरासर ठगी धन्दा होइन र ? सरकार अहिले पनि सर्वसाधारणलाई सहकारीमा पैसा नराख्नुस् भनेर सूचित गराउँदैन ।
यता, सहकारी बन्द भइसक्यो, सञ्चालक भागिसके तर त्यहाँका कर्मचारीहरुले अहिले पनि साेझासिधा बचतकर्तालाई उल्लु बनाएर पैसा उठाएर खाइरहेका छन् । सहकारी मात्र होइन, अहिले लघुवित्त र फाइनान्स पनि डुबेसके । बैंकमा समेत संकट देखिएको छ । बैंकमा कर्जा प्रवाह शून्य नै बनेको छ ।
बैंककै कर्मचारीले बचतकर्ताको खाताबाट रकम चोरी गरेको घटना दिनानु बाहिरिइरहेका हुन्छन् । यस्तो अवस्थामा सर्वसाधारणले बैंकमाथि कसरी विश्वास गर्ने ? कसरी बैंकमा आफ्नो पैसा सुरक्षित हुन्छ भनी ढुक्क भएर बस्ने ? यस्ताे अवस्थामा पनि राष्ट्र बैंक बाेल्दैन ।
पछिल्लो समय मुलुककै अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ । बजारमा व्यापारव्यवसाय ठप्प छ । घरजग्गा र गाडीको कारोबार बढ्न सकेको छ । सेयरमा भने दलालीहरुले पुनः चलखेल शुरु भएकाे छ । यस्तै, बैंक, वित्तीय संस्थाप्रति सर्वसाधारणकोविश्वास घट्दो छ ।
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको उत्तर ढोकादेखि जय नेपाल हल, कमलादी, बागबजार, खसीबजार हुँदै थापाथलीमा निस्किने खोला तथा टुकुचामाथि बनेका वा छेउछाउमा रहेका घर तथा भवनहरुको लगतकट्टा गर्न सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको छ । केही दिनअघि मात्र महानगरले नदी किनार वा खोलाको दायाँबायाँ ४० मिटर छोडेर मात्र भवन निर्माण गर्न सूचना निकाल्यो ।
सर्वोच्च अदालत र मन्त्रिपरिषद्को बैठकले समेत नदी किनार दायाँबायाँ ४० मिटर छोडेर मात्र भवन निर्माण गर्नुपर्ने फैसला तथा निर्णय गरिसकेको छ । २०४३ सालअघि सिंहदरबार पछाडिको अनामनगर, बिजुलीबजार, घट्टेकुलो र कालीस्थानको स्थान सरकारको थियो । यो जग्गामा घोडा पाल्ने योजना थियो । तर, ०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए ।
प्रधानमन्त्री भएसँगै उनले सिंहदरबार पछाडि बाटो खोलिदिए । बाटो खोल्नासाथ घोडा पाल्ने सरकारी योजना पनि समाप्त भयो । अनि व्यक्तितहरुले आफ्नो जग्गासहित सरकारी जग्गा समेत कर्मचारीको मिलेमतोमा आफ्नो नाममा दर्ता गरी घर बनाए । त्यसैले, यो जग्गा पनि सरकारले अतिक्रमण गर्नुपर्ने माग उठिरहेको छ ।
पछिल्लो समय विमानस्थलमै भएको विमान दुर्घटनाले अहिले त्यहाँ वरपर बस्ने सर्वसाधारण त्रसित भएका छन् । यसैले, सरकारले कि त विमानस्थल अन्य ठाउँमा सार्नुपर्ने होइन भने वरपरको बस्ती हटाउनुपर्ने माग पनि उठिरहेको छ ।
विमानस्थल उड्ने नरेफाँट, जडीबुटी, लोकन्थली, पेप्सीकोला, काडाँघारी, मूलपानी, बौद्ध, जोरपाटी, नयाँबस्ती, गौरघाट, सिनामंगल, एयरपोर्ट, तीनकुने, गैरीगाउँ, कोटेश्वर शान्तिनगर, बालकुमारी, टिकाथलीको कि त बस्ती हटाउनुपर्छ नभए विमानस्थल सार्नुपर्छ । अब भोलि सरकारले यी ठाउँका घरजग्गा अतिक्रमण गरेमा बैंकमा सिधैं असर पर्नेछ ।
किनकि, घरजग्गा बनाउन लगानी गर्ने त बैंक नै हो । बैंकले छिटो नाफा कमाउन र ठग्न मात्र सिक्यो । राज्यको नीतिनियमबारे बैंक, वित्तीय संस्थाले केही मतलब गरेनन् । यसले गर्दा पनि बैंकिङ्ग क्षेत्रमा समस्याा निम्तिएको हो । सर्वसाधारणले आफ्नो पैसा सुरक्षित हुन्छ र थोरै भएपनि ब्याज आउँछ भनेर आफूसँग भएको पैसा बैंक, वित्तीय संस्थामा राखे ।
तर, जहाँ सुरक्षा हुने आशा गरिएको थियो, त्यहीभन्दा धोका पाइयो । सहकारी बचत फिर्ता नगरी भाग्यो अनि बैंकमा राखेको पैसा कर्मचारीहरुले खाताबाटै गायब पारिदिए ।
अहिले बैंकका ऋणीहरुले समेत साँबाब्याज तिर्दैनन् । ऋणीले ऋण नतिरेपछि बैंकले धितो लिलामी प्रक्रिया अघि बढाउँछ । तर, अहिले बैंकले ऋणीसँग तीन करोड उठाउनु छ भने धितो बेच्दा आउँछ एक करोड ।