रिबन

सरकार नै दलालीमा लागेपछि जनताले के आस गर्ने ?

अहिले जनता निराश छन् । विभिन्न क्षेत्रमा लगानी गरेकाहरु पनि नराम्ररी डुबिसकेका छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु पनि डुबेका छन् । सहकारीमा निक्षेप जम्मा गरेका बचतकर्ताहरुको त बिल्लीबाठ नै भइसकेका छन् । बजारमा धेरै कोठा, फ्ल्याट र सटरहरु खाली हुने क्रक रोकिएको छैन । मालपोत र यातायात कार्यालय सुनसान छ । दिनहुँ हजारौं नेपाली जनता रोजगारी र अध्ययनका निम्ति विदेशिएका छन् ।

यसले देशको सक्षम र दक्ष जनशक्ति विदेशिएको मात्रै नभई नेपाली मुद्रा समेत विदेशिएको छ । सरकार नै आफ्नो देशका जनतालाई बेचिरहेको छ । र, आफ्नो देशको पैसा बाहिरी मुलुक पठाइरहेको छ । देशको खेतीयोग्य वा उब्जनी हुने जमिनमा सरकारले प्लानिङ वा घर बनाउन दिइरहेको छ । जसले गर्दा आज मुलुकमा खाद्यान्न संकट निम्तिने संकेत देखिएको छ ।

अहिले हामी सबै नेपालीको भान्छामा बाहिरी मुलुकबाट आएको खानेकुरा पाक्छ र हामी खान्छौं । देशको ९५ प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । बाहिरबाट आयात गरिएका खाद्यान्न निकै महंगोमा खरिद गरेर नेपालीले उपभोग गर्नुपरेको छ ।
यसले आर्थिक अवस्था कमजोर भएका जनताहरु भोकभोकै मर्नुपर्ने अवस्थासम्म पनि आएको छ । यति मात्र होइन, विदेशीले खाद्यान्न नपठाए यहाँ धनीदेखि गरिबसम्म भोकभोकै मर्नुपर्छ । पछिल्लो समय नेपालले हरेक सामान विदेशबाट आयात गर्ने गरेको छ । नेपालमै उत्पादन हुने वस्तु पनि विदेशबाट आयात गरिन्छ । यहाँ नुनदेखि सुनसम्म विदेशीको बिक्री हुने गरेको छ ।

नेपाल विदेशीको लागि एउटा व्यापारको थलो बनेको छ । विदेशीले नेपाललाई प्रयोग गरेर थुप्रै फाइदा उठाइरहेको छ । र यो क्रम अझै बढ्दो छ । तर, हाम्रो देश भने अहिले पनि जहाँको त्यँही छ । हामी सामान निर्यात गर्नुभन्दा पनि आयातमा बढी केन्द्रित छौं । हरेक सामानमा परनिर्भर छौं । कुनै पनि वस्तु तथा सामानमा हामी आत्मनिर्भर छैनौं ।

छिमेकी मुलुक भारतले बिक्री नहुने फलामको समेत प्रयोग गरेर चिल्लो गाडी बनायो । हामी नेपालीहरु पनि त्यसमै आकर्षित भयौं । नेपालका अटो शोरुमहरुले भारतमा ५० हजार नपर्ने सवारीसाधन यहाँ ल्याएर लाखौंमा बिक्री गरे । र, अहिले पनि गर्दै छन् । यता, बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर हजारौमा बेचे ।

म्यानपावर र कन्सलटेन्सीहरु आफ्नै देशका नागरिकलाई अन्य देशमा बेचेर कमाइरहेका छन् । सरकार पनि देशै धितो राखेर विदेशीसँग खर्बौ ऋण लिइरहेको छ । सत्तामा बस्नेहरु जनतालाई भ्रममा पारिरहेका छन् । सरकारी कर्मचारीहरु भ्रष्टाचारमा व्यस्त छन् । यहाँ देश र जनताको लागि काम गर्नुभन्दा आफ्नो भुँडी कसरी भर्ने ? भन्नेतिर सबैको ध्यान केन्द्रीत भएको छ ।

यहाँ जो पनि ठग्नमै व्यस्त छ । अनि त्यसमा जहिले पनि सर्वसाधारण नै पर्ने गरेका छन् । राजनीतिक दलदेखि सरकारी कर्मचारी, व्यापारी, बैंक तथा वित्तिय संस्था सबैले सोझासाझा जनता नै ठगिरहेका छन् । सर्वसाधारण हरेक क्षेत्रबाट ठगिएका छन्, लुटिएका छन् । अहिले जनतामा सचेतनाको वृद्धि भएको छ । पहिलाभन्दा धेरै सर्तक भइसकेका छन्, सर्वसाधारण ।

योसँगै बैंक तथा वित्तिय संस्थाहरुको नाफामा गिरावट आएको छ । सर्वसाधारण ठग्न नआएपछि बैंकहरुको आम्दानी घटेको छ । अहिले बैंकमा पैसा राख्ने र कर्जा लिने कोही छैन । बैंकको ठगीधन्दा बारे थाहा पाएपछि जनताले बैंकमा पैसा राख्न र कर्जा लिन दुवै छोडेका हुन् ।
नयाँ होस् या पुरानो गाडी कसैले किन्दैन । बीस लाखमा किनेको गाडी अहिले त्यसको आधा मूल्यमा बिक्दैन । तीन वर्षअघि काठमाडौंका न्यूरोड, भोटाहिटी, इन्द्रचोक, नयाँ बानेश्वर, बल्खु, कलंकी, बौद्धलगायतमा सटर पाउनै मुस्किल हुन्थ्यो ।

एउटै सटरको मासिक भाडा लाखौंसम्म हुन्थ्यो । तीन महिनाको भाडा पहिल्यै तिर्नुपथ्र्यो । एउटा कोठा ९ हजारदेखि २० हजार र एक फ्ल्याटको ३० हजारदेखि लाखौंसम्म पथ्र्यो । सवारीसाधन राखेको छुट्टै पैसा तिर्नुपथ्र्यो । रोजगारीको अवसर नहुँदा उपत्यकामा भाडामा बस्दै आएका धेरैले आफ्नो गाउँघर फर्किन थालेका छन् ।

०४६ सालपछि जग्गाको मूल्य बढेको छ । र, बैंक तथा वित्तिय संस्थाहरु पनि च्याउ उम्रिएझै खुले । बैंक, वित्तिय संस्थाहरुले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । यो जोखिमपूर्ण क्षेत्र हो भनेर सोचेनन् । दलालीहरुले यसको मूल्य बढाएका थिए ।
तर, अहिले त दलालीहरु नै भागेका छन् । राजनीतिक दल र दलालीहरुको मिलेमतोमा घरजग्गा, गाडी र सेयरकोमूल्य हवात्तै बढेको थियो । सर्वसाधारणले दलालीको लंैलैंमा लागेर यसमा लगानी गरेका थिए । लगानी बढेसँगै राज्यको ढुकुटीमा पनि राजस्वको ओइरो लाग्यो । यद्यपि, अहिले जनतामा सचेतना वृद्धि भएपछि दलालीहरु धमाधम भाग्न थालेका छन् भने राज्य राजस्वविहीन भएको छ ।

राजनीतिक दल र सरकारले देश धितो राखेर विदेशीसँग ऋण लिइरहेको छ भनेर पनि अब जनताले बुझ्नुपर्छ । सरकार अहिले पनि विदेशीसँग ऋण लिएर कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाइरहेको छ । तर, देश सरकारको मात्र होइन, जनताको पनि हो । त्यसैले, अब जनता आफ्नो देश बचाउन सडक नआउला भन्न सकिन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *