राजनीति

प्रचण्डपछि माधव प्रधानमन्त्री बन्लान् ? राजनीतिमा नयाँ तरंग

काठमाडौं । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने चर्चाले नेपालको राजनीति तरंगित भएको छ । अबको ११ महिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री हुने र त्यसपछि माधव नेपाल बन्ने चर्चा सुरु भएको हो । प्रचण्ड आफैंले पनि आफू कहिलेसम्म प्रधानमन्त्रीमा रहन्छु थाहा नभएको बताएका थिए ।

एक वर्षअघि प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच दुई वर्ष, एक वर्ष र दुई वर्ष गरी पाँच वर्ष नै गठबन्धनको सरकार चलाउने भित्री सहमति भएको थियो । त्यसबारेमा त्यति जानकारी बाहिर आएको थिएन । तर बुधबारदेखि प्रचण्डको कार्यकाल अब धेरै नरहेको नेताहरूले नै बताउन थालेका छन् ।

बुधबार कांग्रेस नेता विमलेन्द्र निधिले दाङमा प्रचण्डपछि माधव नोपल प्रधानमन्त्री बन्ने तथ्य खोलेका थिए । उनले दलहरूबीच यस्तो सहमति भएको उनको भनाइ थियो । दुई वर्ष प्रचण्ड, एक वर्ष माधव नेपाल र दुई वर्ष देउवा प्रधानमन्त्री बन्ने उनको भनाइ थियो ।

नेता निधिको सो भनाइलाई कांग्रेसका अर्का नेता डा. शशांक कोइरालाको अभिव्यक्तिले पुष्टि गरेको छ । उनले प्रचण्ड नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । बिहीबार नवलपुरको कावासोतीमा नेत्रप्रसाद भुसालको स्मृतिमा नेपाल प्रेस युनियनले स्थापना गरेको पुरस्कार घोषणा कार्यक्रममा कोइरालाले प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट नभएको दाबी गर्दै अब ढिला नगरी पूर्वसहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न । त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्वसहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘सरकार सञ्चालन गर्न दूरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुन्छ । यी दुवै कुरामा प्रचण्ड असफल हुनुभएको छ ।

अब ढिला नगरी दलहरुको पूर्वसहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ ।’ उनले माधव नेपालपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने र आमनिर्वाचन गर्ने बताए । शशांकले प्रचण्डले त्यत्तिकै सत्ता छाड्ने संकेत नभएको पनि उनले बताए । आफूले सत्ता छाड्नु परेमा एमालेसँग अर्को समीकरण बनाउन सक्ने आशंका उनले व्यक्त गरे ।

पछिल्लो समय प्रचण्डको भूमिकालाई लिएर कांग्रेसमै पनि असन्तुष्टि उत्पन्न भएको छ । प्रधानमन्त्रीले नै मन्त्री फेरिँदैछन् भन्दा कर्मचारीले मन्त्रीले भनेको टेर्न छाडेका छन् । त्यसैले पनि अहिले कांग्रेसका अधिकांश नेता अब मन्त्री होइन, प्रधानमन्त्री नै फेर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *