काठमाडौं । केही समययता नेपाली राजनीति फेरि बांगोटिंगो ढंगले चल्ने संकेत देखिएको छ । प्रमुख दलका शीर्ष नेताहरूका अभिव्यक्ति, मौनता र चिनियाँ नेताको बढ्दो चलखेलले नेपालमा छिट्टै राजनीति फरक ढंगले अघि बढ्ने सम्भावना देखिएको हो ।
आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले होटल सोल्टीमा सबै दलका नेता राखेर आफ्नो असन्तुष्टि जनायो । चिनियाँ ठेकेदार कम्पनीबाट आयोजना खोस्न थालिएको भन्दै चीनले सार्वजनिक रूपमा रोष प्रकट गरेको हो । जहाँ कांग्रेस नेता शशांक कोइराला, एमाले महासचिव शंकर पोखरेलसहितका हस्ती थिए । होटल सोल्टीबाट चीनले अहिलेको सरकारलाई आफ्नो ग्रिपमा नबसे जे पनि हुने धम्की दिएको विश्लेषण हुन थालेको छ ।
आइतबार नै एमाले अध्यक्ष केपी ओलीले कोशी प्रदेशमा सरकार जुनसुकै बेला ढल्न सक्ने अभिव्यक्ति दिए । उनले संघमा पनि गठबन्धन सरकारको आयु लामो समय नभएको दाबी गरे । कुनै पनि बेला सरकार ढल्न सक्ने भन्दै अर्कै गठबन्धन हुनसक्ने ओलीको आशय सामान्य होइन ।
ओलीले नयाँ राजनीतिक समीकरण बन्दै छ भनिरहँदा सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अहिलेको सरकार ढाल्न सशक्त ढंगले लागेको रहस्य खुलाए । देशमा सामाजिक सदभाव बिगार्ने र राजनीतिक अस्थिरता निम्त्याउने खेलमा एमाले सामेल भएको नेपालको भनाइ थियो ।
यी तीनवटा घटनाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्नेमा आशंका व्यक्त गरिएको हो । स्वयं प्रचण्डले नै मिडियासामु आफ्नो सरकारको आयुबारे स्पष्ट भन्न सकेनन् । उनले आइतबार एक मिडियालाई दिएको अन्तर्वार्तामा आफ्नो सरकारको आयुबारे अहिले नै भविष्यवाणी गर्न आफू असमर्थ रहेको बताएका हुन् ।
कोशी प्रदेशमा माओवादीका राष्ट्रिय सभा उम्मेदवार पराजित हुनुलाई सामान्य मानिएको छैन । यसअघिको राष्ट्रिय निर्वाचनमा पनि कोशी प्रदेशमा एमालेले एउटा सिट जितेको थियो । यसपटक पनि सफलता प्राप्त गरेको छ । यो विषयमा चाँडै सत्ता गठबन्धनको बैठकमा समीक्षा हुने नेताहरूले बताइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र यहीबेला रडाको मच्चिनुले अर्कै संकेत गरेको छ ।
तर त्यसअघि नै चीनको दबाब खेप्न नसकेर प्रचण्डले मार्गप्रशस्त गर्नसक्ने अनुमान पनि गर्न थालिएको छ । स्रोतका अनुसार चीन अहिले एक वर्षअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला भएको गठबन्धन ब्युँताउने खेलमा लागेको छ । चार दिनअघि आएको चिनियाँ टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर त्यसबारेमा छलफल गरेको बुझिएको छ ।
त्यसअघि चिनियाँ राजदूत रास्वपाको पार्टी कार्यालयमै पुगेर चिनियाँ आयोजनामा दबाब दिएको विषयमा चासो राखेको थियो । राजदूत सोङले अहिलेको गठबन्धन तोड्न लामिछानेसँग प्रस्ताव गरेको नेताहरुको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड तत्काल मन्त्रीहरूको सेट परिवर्तन गर्ने पक्षमा रहनु तर कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन १० सम्म पर्खिन आग्रह गर्नुले यसबीचमा राजनीतिक समीकरण नै फेरिने हो कि भन्ने बजार हल्ला छ । प्रचण्डले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई निकै चासो दिनुले पनि यसलाई पुष्टि गरेको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दा अर्थमन्त्री माओवादीकै नेतालाई बनाउने प्रचण्डको चाहना छ । त्यही भएर अहिलेदेखि नै उनले सार्वजनिक कार्यक्रममा बजेटबारे बोल्न थालेका हुन् ।
सोमबार वीरगन्ज पुगेका उनले आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामुखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए ।
पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए ।




