काठमाडौं । बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेर एकाएक राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । उनी साझा पार्टी खोलेर राजनीतिमा होमिएका हुन् । पछि विवेकशील पार्टीसँग एकीकरण भएपनि उनी विवेकशील साझा पार्टीको सहअध्यक्ष हुँदै अध्यक्ष बने । तर पार्टी नै डुबाए ।
विवेकशील साझा पार्टीमा बबन्डर मच्चाएर उनी त्यहाँबाट हिँडे । वैकल्पिक शक्ति बनेर उदाएको विवेकशील पार्टीलाई कहिल्यै नउठ्ने बनाएर उनी राप्रपा प्रवेश गरे । एक डेढ वर्षसम्म त उनी शान्त नै बने । तर अहिले राप्रपामा उनको भूमिकालाई लिएर प्रश्न उठेको छ । हुन त मिश्रलाई राप्रपामा वरिष्ठ उपाध्यक्ष दिइएकोमा प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, विक्रम पाण्डेलगायतले असन्तुष्टि जनाएका थिए । त्यही कारण उनीहरूको अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि राम्रो सम्बन्ध छैन । तर पछिल्लो समय लिङ्देन र मिश्रबीच पनि सम्बन्धमा तिक्तता आएको देखिएको छ । कतिसम्म भने लिङ्देनले मिश्रलाई पार्टी नै बुझ्न बाँकी रहेको नेताको रूपमा सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
टेलिभिजन अन्तर्वार्ता कार्यक्रममै लिङ्देनले मिश्रले राप्रपा नबुझेको भन्दै कडा प्रहार गरेपछि कट्टर राजावादी कहलिएका मिश्र रनाहामा परेका छन् । उनले आफूमाथि लगाएको आरोपको शनिबार नै जवाफ फर्काएका छन् । उनले आफूले राप्रपा नबुझेको र बुझेर अगाडि बढ्न चाहेको बताएका छन् । लिङदेनले केही दिनअघि एक टिभी अन्तर्वार्ता भनेका थिए, ‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको ? उहाँ हिजोअस्ति आउनुभएको । उहाँले राप्रपा के बुझ्नु भएको छ ?’ उहाँले राप्रपा बुझ्नै बाँकी छ । भर्खर आउनुभएको छ । एक, डेढ वर्ष हुँदैछ । उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो ।’
लिङ्देनको उक्त भनाइलाई स्वीकार्दै मिश्रले आफूले राप्रपा नबुझेको बताएका हुन् । ‘अनुभवले दिने परिपक्कता भनेको अनुभवले नै दिन्छ, सैद्धान्तिक ज्ञानले मात्र दिँदैन,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मिश्रले भने, ‘राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, उहाँलाई राप्रपा राम्रोसँग थाहा छैन भन्नु त्यो अत्यन्त स्वाभाविक हो ।’
बाहिर त्यसो भने पनि मिश्रले यसलाई ठूलो इस्यु बनाउने सम्भावना रहेको बुझिएको छ । ‘मैले व्यापक रूपमा देशैभरि भ्रमण गरेको छु । राप्रपाका सामान्य सदस्य, स्थानीय नेताहरू र वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने, राप्रपा बुझाउने कुरामा प्रशस्त सहयोग गरिराख्नु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य वरिष्ठ नेताहरू, जिल्ला–जिल्लाका नेता र कार्यकर्ताले सहयोग गर्नुभएको छ । त्यसो हुनाले हो त मैले बुझेको छैन,’ मिश्रले भने ।
कोशी प्रदेशको सभामुखलाई लिएर लिङ्देन र मिश्रबीच दूरी बढेको हो । लिङ्देन संघीयताको विरोध पनि गर्ने, तर पद पनि लिने रणनीतिमा छन् । उनी भोट बढाउन मात्र राजसंस्थाको नारा ओकलीरहेका छन् । तर मिश्र भने संघीयता खारेज गरेर राजतन्त्र स्थापना गर्नुपर्ने पक्षमा छन् । त्यही कारण राप्रपाले कोशी प्रदेशमा सभामुख पद लिएपछि राप्रपाभित्रको आन्तरिक विवाद चर्किएको हो ।
वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीसहितका नेताहरूले कोशी प्रदेशमा सभामुख पद लिने विषय पार्टीको निर्णयविपरित रहेको बताउँदै आएका छन् । कोशीमा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत ढंगले सभामुख चयन भइसकेका छन् । सर्वसम्मतिले सभामुख बनेका विष्टलाई फिर्ता गराउन भन्दै नेताहरू लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर जबरालगायतका नेताहरू जुटेका छन् ।
तर, राप्रपा अध्यक्ष लिङ्देनले भने निर्देशन समितिको निर्देशनमाथि नै प्रश्न उठाउँदै लोहनी, मिश्रहरुले निर्णय सच्याउनुपर्ने बताउन थालेका छन् । अध्यक्ष लिङ्देनले भने कोशीमा सभामुख लिने नलिने विषयभन्दा पनि उनीहरूले चालेको कदमलाई नै अवैधानिक र राप्रपालाई उनीहरूले बुझ्न नसकेको भनिरहेका छन् । त्यसैले केही समयमा मिश्रले राप्रपालाई ठूलै भ्वाङ पारेर बाहिरिने अनुमान गर्न थालिएको छ ।




