नेपालमा दुईथरीका मानिस छन् । एकथरी राज्यलाई कर तिर्छन्, अर्कोथरी त्यही करमा मोजमस्ती गर्छन् । महिलाको कोखमा गर्भ आएदेखि राज्यले कर लिन सुरु गर्छ । जन्मिएपछि पनि नमरुन्जेल उसले राज्यलाई कर तिर्नुका साथै देश विकासमा समेत योगदान पुर्याउँछ । नेताहरू कहिल्यै काम गर्दैनन् । जहिल्यै झुटो भाषण वा आश्वासन मात्र देखाउँछन् । नेताहरू जनताले तिरेकै करमै उपचार गर्छन्, विदेश भ्रमणमा जान्छन् अनि बिहान–बेलुका पनि जनताकै करबाट खाना खान्छन् ।
जनता पेटभरि नखाई, खुट्टामा चप्पल नलगाई राज्यलाई कर तिर्छन् । राजनीतिक दललाई भोट दिन्छन् । र, मुलुकको ऐन, कानुन मान्छन् । उनीहरू बिरामी भएमा अस्पताल सुको छुट दिँदैन । उपचार नपाएर अहिले पनि कैयौं नागरिकले अकालमै आफ्नो ज्यान गुमाउनुपरेको छ ।
दलका नेताहरू भने जनताले तिरेकै करबाट उपचार गराउन विदेश पुग्छन् । स्वदेशीमा राम्रो उपचार नहुने भन्दै उनीहरू सानोतिनो उपचारका लागि समेत विदेश पुग्ने गरेका छन् । हामी जनता मरेपछि पनि पैसा नतिरी पशुपतिमा लास जलाउन पाइन्न । लास जलाउनसमेत लाखौं पैसा चाहिन्छ । बाँचुन्जेल राज्यलाई कर तिर्ने र देश विकास गर्ने जनता मरेपछि पनि राज्यलाई कर नतिरी उसको लास जल्दैन ।
नेताहरूले जनताले तिरेको करमा अर्बौं भ्रष्टाचार गरेका छन् । नेपाल नै धितो राखेर विदेशीसँग ऋण लिएर मोजमस्ती गरेका छन् । तर, यस्ता दलाल, भ्रष्टाचारी नेताहरूलाई भने मरेपछि पनि सरकारले सलामी दिन्छ । बाँचुन्जेल त यिनीहरूले जनताले तिरेको करमा मोजमस्ती गरे नै, मरेपछि पनि जनताको कर खर्चिएर नै जान्छन् ।
जो व्यक्तिले बाँचुन्जेल राज्यलाई कर तिर्यो, राजनीतिक दललाई भोट हाल्यो, आफ्नै देशमा रोजगारी गरेर परिवार पाल्नुका साथै देश विकासमा योगदान पुर्यायो, त्यस्ता व्यक्तिलाई सरकारले मरेपछि पनि करबिना लास जलाउन दिँदैन ।
उपचार गर्ने पैसा नभएपछि आमसर्वसाधारण अस्पतालकै छतबाट हामफालेर आत्महत्या गरेको पाइन्छ । उपचार खर्च तिर्न नसक्दा कैयौं अस्पतालले बिरामीको लास नै नदिएको पनि घटना छन् । हामी जनता उपचार गर्ने पैसा नहुँदा कि त रोग पालेर बस्छौं कि त त्यही रोगका कारण मर्छाैं । सर्वसाधारणले बिरामी हुँदा एउटा सिटामोलसमेत निःशुल्क पाउँदैनन् । सरकारले निःशुल्क दिएको औषधिसमेत हेल्थ पोस्टका कर्मचारीहरू मेडिकलमा लगेर बेच्छन् । जनताले अहिले पनि निःशुल्क उपचार पाएका छन् ।
मुलुकमा २००७ मा होस् या २०४६ सालमा । चाहे त्यो २०६२–०६३ सालमै किन नहोस् । त्यो राजनीतिक परिवर्तनले नेताले गरेको होइन, जनताले गरेका हुन् । राजनीतिक परिवर्तन गर्ने समयमा नेताहरू भित्र लुकाए । जनता र तिनका छोराछोरीले गोली खाएर वा मरेर भए पनि मुलुकमा राजनीतिक परिवर्तन गरे ।
जो जनता मुलुक र परिवर्तनका लागि सहिद भए । उसको परिवारको अवस्था अहिले दयनीय छ । जो व्यक्तिले आन्दोलनको क्रममा आफ्नो छोराछोरी गुमाए, तिनका आमाबुबा अझै पनि धुरुधुरु रोएर बसिरहेका छन् । नेताहरूले कुनै पनि आन्दोलनमा आफ्नो छोराछोरी र आफन्त गुमाएनन् ।
२०५२ फागुन १ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु भयो । दश वर्षको अवधिमा १७ हजार नेपालीले ज्यान गुमाए । यी सबै जनता र तिनका छोराछोरी नै थिए । प्रचण्डका चार सन्तान छन् । तर, जनयुद्धको समयमा उनले आफ्नो सन्तान जोगाए । पछि प्रचण्डको एक छोरा, एक छोरीसहित श्रीमती पनि मरिन् । आफ्नो परिवारको तीन सदस्य गुमाउनुपर्दा भने उनी रोए । यसबाट उनले पनि आफ्नो सन्तान गुमाउनुपर्दाको पीडा सहे ।
जनयुद्धमा लागेर घाइते भएकाहरू अहिले पनि उपचार नपाएर तड्पिएका छन् । जनयुद्धकै क्रममा अपांग भएकाहरू अहिले बाटोमा मागेर खाइरहेका छन् । जनयुद्धमा होमिएका माओवादीकै कार्यकर्तासमेत अहिले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन् । जनयुद्धमा लागेकै कारण आफ्नो सम्पूर्ण सकिएपछि कतिपयले मानसिक सन्तुलनसमेत गुमाएका छन् ।
जनयुद्धमा आफ्नो छोराछोरी गुमाएपछि कैयौं आमाबुबा बुढेसकालमा आँसु झारेर बसिरहेका छन् । जनयुद्धमा आफ्ना परिवार, आफन्त गुमाएकाहरू अहिले प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरदरबार छिर्न खोजेमा उनीहरू भित्र जान पाउँदैनन् । प्रचण्डले जनयुद्धमा आफ्नो एउटै सन्तान गुमाएनन् । अहिले एउटी छोरीलाई चितवनको भरतपुर महानगरको मेयर बनाएका छन्, अर्को छोरीलाई स्वकीय सचिव । सँगै बुहारी र ज्वाइँलाई मन्त्री पनि बनाए, भाइलाई पनि सांसद बनाए ।
जनयुद्धमा आफन्त गुमाएकाहरूले के पाए ? हिजो जनयुद्धमा दौरासुरुवाल लगाएका जनतालाई शोषक, सामन्ती भन्दै माओवादीहरूले नै काटे । माओवादीको विरोधमा लेखेको भन्दै पत्रकारहरूलाई जिउँदै खाल्डोमा गाडियो । शिक्षकहरूलाई पनि विद्यालयबाटै समातेर गोली हानेर मारियो । आज प्रचण्ड आफैं दौरासुरुवाल लगाएर हिँड्छन् ।
हाम्रा देशका राजनीतिक दलका नेताहरू एक छाकसमेत राम्रो खान नपाउने परिवारबाट जन्मिएका हुन् । तर, आज यिनै नेताहरूको अर्बौको सम्पत्ति छ । कसरी यत्रो सम्पत्ति आयो ? यिनीहरूले बाँचुन्जेल जनता र राष्ट्रको हितमा काम गरेनन् । देश धितो राखेर विदेशीसँग ऋण लिनुबाहेक केही जानेनन् । अनि यस्ता व्यक्ति मरेपछि पनि राष्ट्रको झण्डा ओढाउनु र सलामी दिनु जनता र राष्ट्रकै बेइज्जत हो । नेपालको जति पनि जमिन भारत र चीनले कब्जा गरेको छ, त्यो पनि यिनै नेताहरूको कारणले गर्दा हो ।
नेपाल धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइएको छ । त्यो पनि जनताले लिएको होइन, नेताहरूले लिएका हुन् । बाबुराम भट्टराईले सदनमै उभिएर ०४६ सालभन्दा अघिपछिका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरेका थिए ।
कुन नेता कुन परिवार र कस्तो परिवारबाट जन्मिएको जनतालाई स्पष्ट थाहा छ । आजै यिनीहरूकै अर्बौंको सम्पत्ति छ । अनि देश बेच्ने नेताहरूलाई मरेपछि सलामी दिनु राष्ट्रकै अपमान भएन र ? ंनेताहरूले देश र जनताका लागि के गरे ? नेपालीलाई विदेशीको दासी बनाएका छन् । विदेशी ऋणले देश डुबाएका छन् ।
र, आफ्नो देशको भूभाग अरु देशलाई जिम्मा लगाइसकेका छन् । पशुपति आर्यघाटमा पैसा नतिरी लास जलाउन पाइँदैन । तर, नेता मर्यो भने लास जलाउने नाममा करोडौं भ्रष्टाचार हुन्छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति हुनेबित्तिकै पेट दुखाईको उपचारको निम्ति भारत पुगे । उपचारको लागि करोडौं खर्च भयो । जुन जनताले तिरेको कर थियो । चर्को आलोचनापछि पौडेलले उपचार खर्च नलिने भन्दै राष्ट्रपति कार्यालयले नै विज्ञप्ति निकाल्यो ।
बिडम्बना, उनले पछि राज्यकोषबाट उपचार खर्च लिए । ७७ वटै जिल्लाका जनता उपचारका निम्ति राजधानी आउँछन् । उपचार गर्दागर्दै सबै पैसा सकिएपछि उनीहरू अस्पतालमै मर्छन् । लास जलाउन पशुपति जाँदा पनि लाखौं पैसा चाहिन्छ । सरकारलाई पनि मरेको मान्छेको लास जलाउन पैसा लिन लाज लाग्दैन । बाँचुन्जेल जनतासँग कर उठाउँछ नै मरेपछि पनि कर उठाउँछ । जनताले मरेपछि पनि सुख पाउँदैनन् । बाँचुन्जेल सरकारले जनताका लागि केही गर्दैन । मरेपछि पनि उसको लास निःशुल्क जलाउन दिँदैन ।




