फटाहा बदमासको राज्यमा जनता वाक्क दिक्क थिए । राजाहरु जनताको कामभन्दा आफु र आफ्नालाई पोसेर सार्है अलोकप्रिय भएका थिए । त्यहि मेसोमा दरबारमा नयां राजा आए, एकदमै गफाडी राजा । जनता विचरा१ सुरुमा त गफाडी राजाको हरेक कुरा पत्याउंदै गए । सोझा जनता र भारदारले पत्याएको भ्रममा उत्तेजित हुंदै राजा अनापसनाप बक्न थाले, गफ दिन थालेपछि लंगौटि फुस्केको पनि पत्तो नपाउने ।
दरबारमा गफाडी राजाका बिषयमा के गर्ने भन्ने सल्लाह भयो- राजा रोकिनेवाला छैनन्, रफुमास्टर खोज्ने । रफु मास्टरमा लामो समय कथा हाल्न खप्पिस विगतमा हालका राजा विरामी हुंदा झण्डै दुई हप्ता झारफुक गरेका, राजाका तमसुक लेखिदिने र राजालाई सुटुक्क रनक्क बनाउने पानी चढाउने बाजेलाई नियुक्त गरियो । रफु मास्टरले विगतमा पुर्याएको योगदानको कदर गर्दै राम्रो रकममा दरबार भित्र्याएपछि भारदारहरुलाई अलि ढुक्क भयो ।
गफाडी राजा रफु मास्टर भेटिएपछि थप उत्तेजित भए । आफ्नै विरादरीका, विगतका सुखदुखका साथी र साक्षी नै रफु मास्टर भएपछि राजाका गफले गति लियो । जनता जनार्दन गफाडी राजाको गफ कम पत्याउन थालेपनि विगतका लोभीपापी र देशमाराभन्दा यिनैलाई झेलौं भन्नेमा बाध्य थिए । फेरि गफाडी राजाको गफ मिलाउन त अब रफु मास्टर थिए नि ।
बिचरा रफु मास्टर१ राजाको जस्ता हुड्डीमा पनि रफु सेट गर्न बेफुर्सद । अब त जनता जनार्दन गफाडी राजाको गणलंकामा होइन होला भन्ने भइसकेका थिए । तर जब जनताले पत्याउंदैनथे र प्रश्न गर्न थाल्थे, अनि रफु मास्टर रफु भर्थे । एकदिन गफाडि राजा जंगलमा शिकार गर्न गएको प्रसंग सुनाउंदै थिए । धेरैलाई थाहा थियो, विगतमा जंगलमा शिकार गर्ने बेलामा यिनी लंकातिर मान्छे ढांट्दै थिए । तैपनि यिनका कुरा नसुने यिनको अरिंगाल सेनाले कारबाही गर्ने भयले उनीहरु चुपचाप थिए । उनी बक्दै गए बिन्दास१ किनकी छेउमा रफु मास्टर हाजिर थिए ।
जंगलमा शिकार खेल्ने क्रममा उनले बाघ भेटे । बाघलाई ताकेर उनले गोली हाने । बाघ गोलीबाट बच्न भाग्न थाल्यो( बाघ अघि अघि गोली पछिपछि । बाघ र गोलीकै कुरा चलेपछि जनता जिब्रो निकाल्दै भन्थे, अनि के भो महाराज? अनि हौसिंदै गफाडि महाराज( बाघ अघिअघि गोली पछिपछि ।
बाघ रुखको छेल परे गोली घुमेर जान्थ्यो । विचरा जनता गोली घुमेको सुन्दा उनीहरुको दिमाग नै घुम्न थाल्यो । रफु मास्टरको साथमा रहेका गफाडि राजा रोकिएनन्। उनी भन्दै गए- बाघ जिउ जोगाउन रुख चढ्यो, गोली पनि रुख चढ्यो । जनतालाई अति भो कति सुन्नु के पत्याउनु तैपनि राजा रोकिएनन् । कान पाकिसक्यो । अझ राजा रोकिने छांट छैन । उनी भन्दै थिए- बाघ गोली छल्न अन्ततः ढुंगाको चेपमा लुक्यो तर गोली पनि के कम? घुमेर ढुंगाको चेपमा गयो, बाघलाई लाग्यो र बाघ मर्यो ।
उनको पत्याई नसक्नुको कुरा अन्ततः कसैलाई पाच्य भएन । गफैले दिन चलाएका, गफका लागि नामी राजाको गफ स्रोता दर्शक कसैले नपत्याएपछि उनलाई आपत पर्यो अनि पालो आयो रफु मास्टरको । रफु मास्टरलाई पनि आपत पर्यो ।
सानो तिनो उध्रेको पो रफु भर्नु । गफाडि राजाबाट आजित रफु मास्टरले अन्ततः भने । सानोतिनो उध्रेको पो रफु भर्नु, यो त ह्वांगै च्यातिएको छ सक्तिनं महाराज ।




