राजनीति

राजेन्द्र लिङ्देनहरूले गुमाएको एउटा अवसर

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनको घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको साखमा ठूलो धक्का लागेको छ । राप्रपाको हिन्दु राष्ट्र पुनःस्थापनाको नारा केवल जनतालाई भुलभुलैयाका लागि ल्याएको मात्र देखिएको विश्लेषण हुन थालेको छ ।

केही दिनअघि ख्रिस्टमस भेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन नमान्ने संविधान विरोधी र देशद्रोही भन्दै जेल हाल्ने चेतावनी दिए । त्यसको व्यापक विरोध पनि भयो । रास्वपा, राप्रपा नेपाल, राप्रपाले पनि पार्टीगत रूपमै किराँतीको अभिव्यक्तिप्रति विरोध जनायो । राप्रपाले मन्त्री किराँतीको राजीनामा माग गरेर निरन्तर सडक आन्दोलन गर्ने धेरैलाई लागेको थियो । तर त्यस्तो भएन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । जसमा हल्का रूपमा मन्त्री किराँतीको अभिव्यक्तिको विरोध जनाइएको थियो । त्यसअघि नै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मन्त्री किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई पदमा रहिरहन ठीक नहुने विज्ञप्ति जारी गरेका थिए । तर एक साता हुन लाग्दा पनि राप्रपाले सडक आन्दोलन र विरोधका कार्यक्रम निकाल्न सकेको छैन ।

त्यसैले अहिले राप्रपाले हिन्दु राष्ट्र ल्याउँछ भनेर कसैलाई पनि विश्वास लागेको छैन । बरु यो पार्टीका अध्यक्ष लिङ्देन यतिबेला विदेश सयरमा छन् । लिङ्देन, रवीन्द्र मिश्रलगायतको टोली अहिले हङकङमा छन् । विदेशका फोटो सामाजिक सञ्जालमा राखेर उनले राप्रपाले किराँती काण्डलाई अघि नबढाउने संकेत दिएका छन् ।

बरु राप्रपाबाट अलग भएका कमल थापाले किराँतीको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन् । राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष थापाको नेतृत्वमा आइतबार पर्यटनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको छ । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् । मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

राप्रपाका अध्यक्ष लिङ्देनहरूलाई भने क्रिस्चियन धर्मको विरोध गर्न नैतिकताले पनि दिँदैन । सो पार्टीबाट गत स्थानीय तहको निर्वाचनमा धादिङ, मकवानपुरलगायतका जिल्लामा प्रमुख र उपप्रमुख जितेका छन् । सांसद विना राई क्रिस्चियन धर्मावलम्बी हुन् । त्यसैले पनि किराँतीको राजीनामा माग्न र उनको अभिव्यक्तिको विरोध गर्न राप्रपालाई निकै अप्ठेरो परेको हो ।

बरु यो काण्डले राप्रपाको मुखुण्डो उघारिदिएको छ । राप्रपाले क्रिस्चियन मेसिनरीले भनेअनुसार काम गर्दै आएका किराँतीविरुद्ध सडक संघर्ष गरेको भए अर्को निर्वाचनमा धेरै जनसमर्थन बटुल्ने सम्भावना पनि थियो । तर राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रहरूले यो अवसर गुमाएका छन् । बरु हिन्दु धर्मको आडमा राजतन्त्र पुनः स्थापना गर्ने उनीहरूको एक मात्र हिडेन एजेन्डा रहेको सबैले बुझेका छन् । राप्रपाले आगामी फागुनमा राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि भन्दै उपत्यका केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । तर राप्रपाको आन्दोलनले जनसमर्थन नपाउने किराँती काण्डले देखाइसकेको छ । हिन्दु धर्मको खोल ओढेर राजतन्त्र ल्याउन लिङ्देनलगायतलाई काठमाडौंवासीले साथ देलान् भन्ने धेरैलाई लागेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *