राजनीति

सन्तनेता कृष्णप्रसाद भट्टराईको शताव्दी जन्मजयन्ती

काठमाडौं । नेपाली राजनीतिमा सन्त र त्यागी नेताको छवि बनाएका नेता कृष्णप्रसाद भट्टराईको शताव्दी जन्मजयन्ती मनाइँदै छ। पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई किसुनजीका नामले पनि चिनिने गरिन्थ्यो। सन्त नेता भट्टराई राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण पञ्चायती तानासाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए।

उनले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको जन्म वि।सं १९८१ पुस ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको विक्रम संवत् २०६७ साल फागुन २० गते निधन भएको थियो।

खासगरी २००७ सालपछि सधैँ शान्तिपूर्ण आन्दोलनको वकालत गरेका उनले जेलनेल पाए पनि स्वदेशमै बसेर लड्न रुचाए। पन्ध्र सालमा ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसद्को सभामुख बनेका भट्टराईले २०४६ सालमा पञ्चायत ढलेर बहुदल आएपछि अन्तरिम सरकारका प्रधानमन्त्रीको कठिन जिम्मेवारी सम्हालेका थिए। 

उनकै पालामा २०४७ सालको संविधान आयो, जसले त्यति बेलाका शक्तिशाली राजालाई संवैधानिक दायरामा ल्याएको थियो। प्रजातन्त्रप्रतिको निष्ठाबाट अविचलित र दृढ अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरूमध्येका एक थिए भट्टराई।

नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्व सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भने काठमाडौंबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एक पटक प्रधानमन्त्री बनेका थिए।

दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाउँदा पनि आरोप र लाञ्छना मुक्त बेदाग रहन सक्नु अर्को सम्झना योग्य कुरा हो। अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाडौंबाट चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले उनको इमान्दारिता र उदारतालाई अझै सम्झिरहेका घटनाक्रम हुन्।

यस्तै पार्टीको कोष हेर्ने जिम्मेवारी सम्हालेको विषय इमान्दारितासँग अझै जोडेर हेर्ने गरिन्छ। शान्ति , प्रजातन्त्रप्रतिको निष्ठा र स्वच्छ छविका लागि भट्टराईलाई आजसम्म पनि धेरैले सम्झिरहेका छन्।

प्रधानमन्त्रीका रूपमा उनी बालुवाटार पस्दा सुराही, ट्याङ्का र छाता साथमा थियो, बाहिरिँदा पनि यी तीनै वस्तु मात्र। किसुनजी दोस्रो चोटि प्रधानमन्त्री भएका बेला सुविधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी नेपाली काँग्रेसका ६९ जना सांसदले अविश्वासको प्रस्ताव राखेका थिए।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिँदै प्रधानमन्त्री भट्टराईले पन्ध्र मिनेट लामो भावुक सम्बोधन गर्दै भनेका थिए, ‘सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो अन्तिम सम्बोधन हुनेछ।’ अविश्वास प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभा विघटनतिर नलागि उनले खुसीसाथ पद छोडेका थिए।

तत्कालिन अवस्थामा राजनीतिक वृत्तमा सन्त नेता भट्टराईको केही आलोचनासमेत सुनिएको थियो। आलोचकहरूले उनलाई सांगठनिक नेतृत्व गर्न कमजोर र आसेपासेमा बढी निर्भर नेताको रुपमा औँल्याउने गरेका थिए। उनले हाकाहाकी गणतन्त्रको विरोध गर्ने गरेका कारण कतिले उनको उछित्तो काढ्न पछि परेनन्। तर अन्तिम समयसम्म पनि उनलाई सम्मान गर्न राजतन्त्रवादीदेखि लिएर कट्टर गणतन्त्रवादीहरूसमेतले उनको सम्मान गरिरहेको पाइयो।

त्यसको एउटै कारण उनमा रहेको नैतिक राजनीतिको बल रहेको राजनीतिमा चर्चा गरिन्छ। माफी नमागेको कारण सक्रिय राजतन्त्रको पञ्चायत कालमा १४ वर्षसम्म जेल बसेका भट्टराईले गणतन्त्र स्थापनाको तत्कालिन समयमा गणतन्त्रको विरोध गर्ने लहरमा आफूलाई दृढतापूर्वक उभ्याएका थिए। नेपाली काँग्रेसका संस्थापक नेतासमेत रहेका भट्टराईले पार्टीले संवैधानिक राजतन्त्र छोडेर गणतन्त्रको पक्षमा जाँदा पार्टी नै त्यागिदिए। वर्षौंसम्म एउटै पार्टीमा रहेर काम गरेको गिरिजाप्रसाद कोइरालासँग प्रजातन्त्रको पुनर्स्थापनापछिका समयमा उनको बेमेल बढेको देखियो। आफूप्रति अन्तर्घात भएको महसुस गरेका भट्टराई बिस्तारै कोइरालासँग टाढिँदै गए, जुनक्रम कोइरालाको निधन हुनुअघिसम्म जारी नै थियो।

पार्टी, कार्यकर्ता र साथीसंगीबाट टाढिएर धर्म कर्मप्रति नजिकिएका भट्टराईलाई निकट सहयोगी अमिता कपालीले भने अन्तिम घडीसम्म हेरचाह गरेकी थिइन्। भट्टराईले आजीवन अविवाहित नै बिताएका थिए। नेपाली काँग्रेसको निष्ठावान् र समग्र देशले नै सन्त नेताको रुपमा चिनिएको कृष्णप्रसाद भट्टराईको त्याग, निष्ठा, निष्कलंक छवि, इमान्दारितालाई राजनीतिक कर्मीहरूले आज पनि सम्झिरहेका छन्। यति बेला देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर संसद गठन र सरकार गठनको प्रक्रियामा चलिरहेको छ।

अहिले नेपाली काँग्रेसले सरकार नेतृत्व गर्ने तयारी गरिरहेको अवस्थामा अझ सन्त नेता भट्टराईले सरकार सञ्चालन र इमान्दारिताको जुन शिक्षा दिएका छन्, त्यसलाई व्यवहारिकरुपमा आदर्श मानेर मनन गर्नुपर्ने सही समय छ।

प्रधानमन्त्री भएर पनि बेदाग कुनै भ्रष्टाचार वा अनियमितताबाट पर रहेर जसरी शासन सञ्चालन गरेको उदाहरण उनले प्रस्तुत गरेका थिए आज त्यसलाई आदर्शको रुपमा हेर्नु र सिक्नु पर्नेछ। सन्त नेता भट्टराईको अवसानले वर्तमान राजनीतिलाई वा उनले स्थापना गरेको पार्टी नेपाली काँग्रेसलाई नैतिकता र निष्ठाको राजनीतिमा उनको अभाव सधैँ खड्की नै रहेनछ। नेपाली राजनीति र नेपाली काँग्रेसले भट्टराईलाई कहिले पनि बिर्सन मिल्दैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *