माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला उनले एकजना सरकारी कर्मचारीलाई हटाउन मन्त्रिपरिषद्बाट स्वीकृत गरेर राष्ट्रपति रामवरण यादवकहाँ पठाए । तर, राष्ट्रपति यादवले स्वीकृत नगरेपछि उनले बोल्दाबोल्दै राजीनामा दिए ।
जबकि कसैले पनि उनको राजीनामा मागेको थिएनन् । प्रचण्डको निर्णयले सर्वसाधारणमाझ राम्रै छाप परेको थियो । पद ठूलो होइन् भन्ने उदाहरण दिएका थिए, उनले । तर, उनको उक्त कार्य सस्तो लोकप्रियता कमाउन मात्रै रहेछ भन्ने पुष्टि भइसकेको छ ।
प्रचण्ड देशको प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो । जनता र राष्ट्रको हितमा उनले यो एक वर्षको अवधिमा एउटा पनि निर्णय गरेका छैनन् । अहिले मुलुकमा आर्थिक मन्दी छ । व्यापार–व्यवसाय ठप्प छ । सर्वसाधारण समस्यामा छन् । महाबौद्ध, इन्द्रचोकका व्यापारीहरू बिहीबार दिउँसो १२ बजेसम्म पनि बोहनी नभएको गुनासो गर्दै थिए ।
मालपोत र यातायात कार्यालयको अवस्था पनि त्यस्तै छ । चकमन्न छ । केही दिन उकालो लागेको सेयर हिजो फेरि स्वाठ्ठै ओरालो लाग्यो । बजारमा महँगी ह्वात्तै बढेको छ । बेरोजगारको संख्या दिनहुँ उकालो लागिरहेको छ । पेन्सन खाने भूपूकर्मचारीहरू सरकारले तलब खातामा नहालिदिएको बताउँछन् ।
कतिपय स्थानीय तहका कर्मचारीहरू तलब नपाएपछि आन्दोलित भएका छन् । एक वर्षको अवधिमा विदेशी ऋण ह्वात्तै बढेको छ । हरेक क्षेत्रमा बेथिति छ । राजश्व छली, भ्रष्टाचार रोक्न उनले सकेका छैनन् । यातायात क्षेत्रमा लामो समयदेखि सिन्डिकेट छ । यातायात व्यवसायी भनिने ‘दलाल’ हरूले एकाधिकार जमाएर बसेका छन् । तर, सरकार उनीहरूको एकाधिकार तोड्न असफल रह्यो ।
भूमिगत गएका प्रचण्डले पहिलोपटक बालुवाटारमा सार्वजनिक हुँदा मुलुकलाई १० हजारभन्दा धेरै सेना नचाहिने बताएका थिए । अहिले आफैं प्रधानमन्त्री छन्, तर आफ्नै बोली कार्यान्वयन गर्न सकेका छैनन् । भ्रष्टाचारका कारण मुलुकको अन्तर्राष्ट्रिय बद्नाम भएको छ । सरकारी कार्यालय घुस खाने अड्डा बढेको छ ।
सडकमा उभिने ट्राफिक प्रहरीदेखि कार्यालयमा बस्ने सरकारी कर्मचारीहरूले खुलेआम घुस खाइरहेका छन् । खोइ त नियन्त्रण ? आमसर्वसाधारणले पाँच सय र हजार रूपैयाँको नोट घरमा लुकाएका छन् । पाँच सय र हजारको नोट खारेज गरेर नयाँ निकाल्नुपर्छ भनि पटकपटक माग उठिसकेको छ । तर, सरकारले त्यो पनि गर्न सकेको छैन् ।
लक्ष्यअनुरूप राजश्व उठेको छैन । सरकारलाई आफ्नै खर्च धान्न हम्मेहम्मे परेको छ । जनताले तिरेको करले नधानेपछि सरकारले धमाधम विदेशी ऋण लिएको हो । सरकारी खर्च धान्न सक्ने क्षमता छैन भने सरकारले विदेशी ऋणको किस्ता कहाँबाट ल्याएर तिर्छ ? विदेशी ऋण मिनाहाका लागि उनले अहिलेसम्म कुनै प्रक्रिया चालेका छैनन् । देशमा खाने नै खाने मात्रै छन् । आम्दानीको स्रोत छैन्, खानेको भने लहर छ । स्थानीय जनप्रतिनिधि पनि तलबभत्ता खान्छन् । उनले यसमा विषयमा पनि कुनै एक्सन लिएका छैनन् ।
भूपू सरकारी कर्मचारीको पेन्सन र ज्येष्ठ नागरिकको भत्ता कटौती गर्न सरकार असक्षम छ । माफियाहरूले सरकारी, गुठी, मठमन्दिर, सार्वजनिक जग्गा व्यक्तिको नाममा लगेका छन् । सरकार ती जग्गा फिर्ता ल्याउन असफल भएको छ । मुलुकका ठूला उद्योगपति भनिएकाहरूलाई नै राज्यलाई लुटिरहेका छन् । राजश्व छली गरेका छन् । सरकारले राजश्व छली गर्नेलाई कानुनको दायरामा ल्याउन सकेको छैन । प्रचण्डले ठूला कुरा मात्रै गर्ने रहेछन् र उनीसँग काम गर्ने क्षमता रहनेछ भन्ने अहिले प्रमाणित भएको छ ।
राजश्व उठाउन उनले जग्गाको कित्ताकाट खोले । सेयरमा १२ करोडको सीमा हटाइयो, तैपनि कुनै प्रगति भएन । मुलुकमा रोजगारीको अवसर नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको भीड छ । युवायुवतीहरू धमाधम पलायन गइरहेका छन् । घरेलु कामदार बनेर खाडी गएका महिलाहरूको श्रमसँगै यौन शोषण भइरहेको छ । महिलाहरू गर्भवती भएर नेपाल फर्किरहेका छन् । सरकारले रोजगारी दिन नसकेपछि घरपरिवार पाल्न गएका महिलाहरूको जिन्दगी तहसनहस बनेको छ ।
हालसालै मात्र एउटा एकदमै पीडादायी घटना सार्वजनिक भयो । कुवेतबाट आएकी एक युवतीले विमानमै बच्चा पाएर कमोडभित्र फ्याँकिन् । बच्चाको ज्यान गयो, ती महिलाको भविष्य पनि अन्धकार भयो । सडकमा माग्नेको संख्या ह्वात्तै बढेको छ । बच्चा, बुढाबुढीदेखि लिएर सुत्केरीसम्म माग्न बसेका छन् । बैंक तथा वित्तीय संस्थाका कारण करोडौंको उठीबास लाग्ने भएको छ । सहकारीले पैसा खाइदिएपछि बचतकर्ताहरूको बिचल्ली भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आम्दानीभन्दा खर्च भयो भनेर सार्वजनिक गरिसकेको छ । यस्तो पाराले देश कसरी चल्छ ? अब प्रधानमन्त्री प्रचण्डसँग दुइटा उपाय छ । कि धमाधम एक्सनमा जाने कि नैतिकताको आधारमा राजीनामा दिने । पहिले एउटा मन्त्रिपरिषद्को निर्णय स्वीकृत नहुँदा राजीनामा दिए, अहिले देश नाजुक अवस्थामा पुगिसक्यो अझै पदको लोभ गरेर बस्ने ? पद त्यति नै प्यारो छ भने काम गर्नुपर्यो । २०६५ सालमा राष्ट्रपतिबाट शपथ लिने बेलामा उनले कोट पेन्ट लगाएका थिए । तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदा उनले दौरा सुरुवालमा शपथ खाए । यसले पनि उनी अन्य राजनीतिक दलकै बाटो हिँडेको पुष्टि भइसकेको थियो ।
सत्तामा जान नपाएपछि एमाले पानी नपाएको माछाझैं छट्पटाइरहेको छ । सबै पार्टी ‘एउटै ड्याङका मुला’ हुन् । जनयुद्धको बेला माओवादीमा लागेकाहरू उपचार नपाएर तड्पिरहेका छन् । मुलुकको राजनीति परिवर्तन गर्न प्रचण्डले नेतृत्वले गरे होलान्, तर गोली खाने त अरु छन् । अंगभंग भएर बाँचेका छन् । प्रचण्डले उनीहरूलाई बिर्सिए । प्रचण्डले के गुमाएका छन् ? जति गुमाउनु थियो जनताले गुमाए । कतिपय आमाबुवाको काख रित्तियो, कतिपयको सिन्दूर पुछियो ।
हालै मात्र प्रचण्डले गोकर्ण रिसोर्टमा आफ्नी नातिनीको विवाह गरे । करोडौं रुपैयाँ खर्च गरेर तामझामका साथ विवाह भयो । त्यतिबेला जनयुद्धका घाइतेहरूको कति मुटु पोल्यो होला ? उनका लागि खुसीको मौका थियो होला, तर घाइतेहरूको आँखामा आँशु टिल्पिलाएको थियो । यस्तो व्यक्तिलाई जनताको अभिभावक भन्न सुहाउँछ ? २०६४ चैत २८ गते भएको चुनावमा माओवादीले १२१ क्षेत्रबाट प्रत्यक्ष जित्यो । थोरै भोटले धेरै क्षेत्रमा हार्यो । त्यतिबेला काम गरेनन्, राजाझैं टाउको हल्लाउँदै हिँडे । त्यसपछि उनलाई जनताले पत्याएनन् । कहिले कांग्रेस त कहिले एमालेसँग टाँसिन्छन् । सबैभन्दा ठूलो समय हो, उनले त्यो बुझेनन् ।




