काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुनदेखि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीका लागि बृहत् नागरिक आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि उसले पुस र माघमा तयारी गर्ने जनाएको छ । यदि आन्दोलन सोचेजस्तै अघि बढेमा प्रदेश/प्रतिनिधिसभाबाट सबै सांसद फिर्ता हुनसक्ने अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरेका छन् । तर राप्रपाले त्यहाँ एउटा छिद्र भने राखेको छ । त्यो हो ‘जनताले चाहेमा’ भन्ने शब्द । यसो गर्दा आन्दोलन फासफुस भएमा प्रदेश र प्रतिनिधिसभा सदस्यलाई फिर्ता बोलाइरहनु परेन ।
केन्द्रमा विपक्षमा रहेको राप्रपा कोशी प्रदेशमा भने सत्ता गठबन्धनसँग मिलेर सभामुख लिने तयारीमा छ । उसले लामो समयदेखि सभामुखमा बार्गेनिङ गर्दै आएको छ । यदि आफ्नो पार्टीलाई सभामुख दिएमा कोशी प्रदेश सभाको कार्यकाल पूरा अवधि टिक्ने उसले दाबी गरेको छ । सत्तारुढ गठबन्धन पनि राप्रपाको मागमा सहमत भएका छन् । प्रदेश सभा अहिले नै विघटन गरी मध्यावधिमा जानुभन्दा राप्रपालाई सभामुख दिएर प्रदेश सभा बचाउने रणनीतिमा कांग्रेस, माओवादीलगायत दल लागेका छन् । संघीयता खारेजविरुद्ध आन्दोलनको घोषणा गरेको राप्रपाले सभामुख पनि छाड्न नसक्नुलाई उसको दोधारे चरित्र भनेर विश्लेषण गर्न थालिएको छ ।
कोशीमा सभामुखका लागि राप्रपाले प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि राप्रपाले आफ्नो दलबाट सभामुख हुने सांसदको रूपमा विष्टको नाम दिएको हो । एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । राजनीतिमा नाटकीय परिवर्तन नभए विष्ट एक साताभित्र कोशीको सभामुख बन्नेछन् । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि साउन १६ यता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुख पदका लागि एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी छ ।
सत्ता गठबन्धन दलका नेताले राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सभामुख बन्नका लागि प्रस्ताव गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् । सत्ता गठबन्धनकै दलबाट सभामुख चयन गर्दा सरकारलाई बहुमत नपुग्ने भएकाले गठबन्धनले राप्रपालाई सभामुखको प्रस्ताव गरेको हो ।
तर यसबारे विपक्षमा रहेको एमालेको आधिकारिक धारणा आएको छैन । एमाले पनि सभामुख लिने दाउमा छ । यसअघि उसका नेता हिक्मत कार्की दुई दुईपटक मुख्यमन्त्री बनेका थिए । प्रदेशमा अहिले कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । सुरुमा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीलाई अहिले माओवादी, एकीकृत समाजवादीले साथ दिएका छन् ।
यसअघि दुर्गा प्रसाईले राजतन्त्र पुनःस्थापनाको आन्दोलन गरेका थिए । तर त्यो तीन दिनमै तुहिएको थियो । त्यसैले राप्रपाको आन्दोलन पनि सफल हुने सम्भावना छैन । तर पनि राप्रपाका राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाहीहरू अन्तिम आन्दोलन भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह ल्याउन लागिपरेका छन् । अबको तीन महिनाले बताउने छ नेपालमा राजतन्त्र पुनःस्थापना र राप्रपाको भविष्य ।




