काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो परिवारमाथि प्रश्न उठाएर आफूलाई ‘डिप्रेस’ बनाउन खोजेको गुनासो गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मंगलबार बोल्दै उनले आफूलाई ‘डिप्रेस’ बनाउन छोरी गंगा दाहालमाथि विभिन्न विषय जोडेर प्रहार गरिएको बताए । कतिपयलाई प्रचण्डलाई ‘डिप्रेस’ नबनाएसम्म व्यवस्था नउल्टिने भन्ने सोचले प्रश्न उठाएको उनको दाबी थियो ।
‘गिरिजाबाबुले धमिजा काण्डमा गरेकोभन्दा एनसेलमा बढी काण्ड गरेको भन्ने छ । मेरो परिवारमा तीनजना छौं । मेरी एउटी छोरी भरतपुरको मेयर छिन् । अर्की कस्ती छे तपाईंहरूलाई थाहा छ । प्रचण्डलाई ह्युमिलेट गर्नमा केहीलाई सन्तुष्टि हुन्छ । त्यस्तालाई चलाउन म तयार छैन । केलाई चलायो के भन्छन् नि । यहाँ उठाउनुभयो त्यसैले मैले भनें, अन्त भन्दिनँ । यहाँहरूको सुझावअनुसार अगाडि बढ्छु,’ उनले भने ।
कुनै समय नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अहिले प्रचण्डले छोरी गंगालाई बढी महत्व दिए जस्तै छोरी सुजाता कोइरालालाई राजकाजको नजिक राखेका थिए । जर्मन नागरिकसँग बिहे गरेर गएकी सुजातालाई गिरिजाप्रसादले नै नेपाल बोलाएर कांग्रेसको राजनीतिमा लगाएका थिए । त्यसपछि सुजाता कहिल्यै विदेश गइनन् ।
कांग्रेसको केन्द्रीय सदस्य बनिन् । उपप्रधानमन्त्रीसम्म बनिन् । गिरिजाप्रसाद सत्ता र शक्तिमा हुँदा सधैंजसो सुजाताकै बोलवाला रह्यो । परिवारमा अरु कोही सन्तान नभएकाले सुजाताले मौका पाएकी थिइन् । गिरिजाप्रसाद पाँचचोटि देशको प्रधानमन्त्री बने । शक्तिशाली कार्यवाहक राष्ट्रप्रमुखसमेत बने । सधैंजसो सुजाता मात्र केन्द्रमा रहिन् । धेरैले सुजातालाई महत्व दिएको भन्दै गिरिजाप्रसादको सत्तोश्राप गर्थे । तर कहिल्यै उनले त्यसबारे गुनासो गरेनन् ।
प्रचण्ड पनि सुजातालाई राजकाजको नजिक गिरिजाप्रसादले राख्दा असन्तुष्टि सार्वजनिक गर्थे । तर पछि उनले गिरिजाप्रसादकै पदचाप पछ्याए । प्रचण्डका चार सन्तान । जेठी ज्ञानु क्यान्सर रोगले बितिन् । माइली छोरी रेनु दुई दुईपटक भरतपुर महानगरपालिका प्रमुख बनिन् । गंगा पहिले भारतीय नागरिक नारायण प्रधानसँग बिहे गरेर सिक्किमतिरै बसेकी थिइन् । तर पछि प्रचण्डले नेपाल झिकाए । पहिलेको वैवाहिक सम्बन्ध बिग्रियो । गंगाले जीवन आचार्यसँग दोस्रो बिहे गरिन् । र, सधैं बाबुसँगै बसिन् । छोरा प्रकाश दाहाल र श्रीमती सीता दाहाल गुमाएपछि अहिले प्रचण्डको सहारा भनेकै गंगा मात्र हुन् । बुहारी बिना मगर भए पनि आफ्नो सन्तानका रूपमा गंगालाई राखेका छन् । सोही कारण बालुवाटारमा गंगा दाहालको प्रभुत्व बढ्नुमा नौलो होइन ।
छोरीलाई राजकाज नजिक राखेपछि चौतर्फी आलोचना हुनु सामान्य हो । त्यसलाई पचाउन सक्नु पर्छ । तर प्रचण्डले आफ्नो परिवारका सदस्यमाथि भएको प्रहार सहन सकेनन् । त्यसैले उनले आफ्नो परिवारका सदस्यमाथिको प्रहारलाई लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको भन्दै रोइकराई गरेका छन् । निरंकुश कम्युनिस्ट सत्तामा मात्र नेतृत्व र नेतृत्वका सन्तानबारे प्रश्न गर्ने छुट हुन्न । नेपाल गणतान्त्रिक मुलुक हो । यहाँ वाक स्वतन्त्रता छ ।
सरकारी निकाय र जिम्मेवार पदमा बसेका सबैको विरोध गर्ने र प्रश्न गर्न पाउने हक छ । त्यसैले प्रचण्ड बुझ्ने मान्छे हुन् भने उनले राजकाजमा छोरी गंगा र रेनुलाई नजिक नराखेकै राम्रो । सबैले देखेका छन् के कसो हुँदै छ भनेर । गिरिजाप्रसादको नाम पटकपटक लिने प्रचण्डले गिरिजाले छोरी सुजातालाई अधिक माया गर्दा के कसो भयो थाहा पाएकै छन् ।




