पछिल्लो केही समययता राज्य सञ्चालकहरू विदेश जाने क्रम बढेको छ । सांसददेखि लिएर स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीहरू जनताले तिरेको करबाट विदेश भ्रमणमा पुगेका छन् । कोही अध्ययन त कोही कार्यक्रममा सहभागी हुन विदेश गइरहेका छन् । उनीहरू त्यहाँ घुम्छन्, हेर्छन् तर त्यहाँ बुझेका कुराहरू यहाँ कार्यान्वयन गर्दैनन् ।
अन्य मुलुकको विकासबाट हाम्रा जनप्रतिनिधिहरूले किन केही सिक्दैनन् ? काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरू कार्यक्रमका लागि विभिन्न मुलुक पुगिसकेका छन् । उनीहरूले धेरै मुलुकको विकास नियालिसकेका छन् । तैपनि उनीहरूलाई कुनै प्रभाव परेको छैन । काठमाडौं उपत्यका नाम मात्रको उपत्यका बनेको छ । अव्यवस्थित सहर र जताततै फोहोर । न फोहोर व्यवस्थापन गर्न सकिएको छ, न पानीको पाइपहरू व्यवस्थित छ । सडकमै ढल फुटेर यत्रतत्र फोहोर भएको हुन्छ । तर, सरोकारवाला निकायलाई मतलब छैन् ।
पानीको पाइप र ढल खन्ने नाममा सडक खाल्डाखुल्डी बनाएर छोडिएको छ । साँघुरा फुटपाथ, त्यहीँमाथि पसल । सडककै छेउमा वर्कसप सञ्चालन गरिएको छ । बिजुली र टेलिफोनका तारहरू लत्रिएको अवस्थामा छ । कतै पोलहरू भाँचिएका छन्, त कतै खम्बा ढलेर बसेको छ । बाटोको छेउमा सिसैसिसा भएको घरहरू ठड्याइएको छ ।
होर्डिङ बोर्डले सहर कुरूप बनाएको छ । अस्तव्यस्त बसोबासका कारण काठमाडौं उपत्यकाका मुलुककै दुर्गन्धित सहर बनेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा दुईपटक मेयरमा निर्वाचित भइसकेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २०७४ सालको निर्वाचनमा पनि विजयी हासिल गरेर मेयर बनेका थिए ।
ललितपुर महानगरको प्रहरी बलको प्रमुखमा सिताराम हाछेथु छन् । मेयर र प्रहरी प्रमुख मिडियाबाजी मात्र गर्छन् । हप्तैपिच्छे पत्रकार सम्मेलन गरेर मिडियाबाजी गर्ने अनि काम केही नगर्ने । मेयर महर्जन न सार्वजनिक, गुठी, सरकारी जग्गा खोजतलास गर्छन्, न सहर व्यवस्थापनतर्फ नै ध्यान दिन्छन् । काठमाडौं महानगरपालिकाका प्रहरी पनि सुस्ताउँदै गएका छन् ।
काम गर्नुको साटो कुनै बाटोमा गफ ठोकेर बसेका हुन्छन् । महानगर प्रहरीले सुुरुवातमा जसरी काम गरिरहेको थियो, अहिले त्यसको आधा पनि गर्दैनन् । भक्तपुर २ का सांसद दुर्लभ थापाको घर सल्लाघारीमा छ । सल्लाघारीमा बिहान र बेलुका पैदलयात्रीलाई निकै सास्ती हुन्छ । फुटपाथ व्यापारीका कारण पैदलयात्रीहरू सडकको बीचबाट हिँड्न बाध्य छन् ।
सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा त्यही बाटो हुँदै बिहान र बेलुका कार्यालय आउजाउ गर्छन् । तर, उनको त्यसतर्फ ध्यान जाँदैन । फुटपाथ हटाउन उनले निर्देशन दिँदैनन् । वडाध्यक्षहरू फुटपाथ व्यवस्थापन गर्न र पैदलयात्रीलाई सहज रूपमा हिँड्ने वातावरण बनाउन चासो देखाउँदैनन् ।
मेयर थापा आफैं जग्गा दलाली हुन् । अधिकांश वडाध्यक्ष पनि जग्गा दलाल नै हुन् । कहाँ सरकारी र गुठीको जग्गा छ भनेर खोज्दै हिँड्नेहरूले नगरपालिकाभित्रको समस्याबारे के जानकारी राख्थे ? नगरपालिकाले राखेको प्रहरीहरू ‘काम चोर’ छन् । ११ बजे स्कुटर र मोटरसाइकल चढेर कार्यालय आउँछन् । २ बजे टाप कसिहाल्छन् । उनीहरूले काम गरेको सर्वसाधारणले आजसम्म देखेका छैनन् । बसिबसी जनताले तिरेको कर पचाउने काम भइरहेको छ ।
आफ्नो नगर क्षेत्रभित्र के भइरहेको छ ? कहाँ सुधार गर्नुपर्ने छ ? जनप्रतिनिधिहरूलाई मतलब नै छैन । झाडु, कुचोलगायतका सरसफाइका सामान बोकेर हिँड्नुपर्ने नगर प्रहरी स्कुटर र मोटरसाइकलमा हुइँकिन्छन् । सडक छेउमा पेट्रोल पम्प छ । इन्धन हाल्न गाडीको लाम मुख्य सडकसम्म आइपुगेको हुन्छ । सडक छेउछाउ जथाभावी गाडी पार्क गरिएको हुन्छ । सडक मिचेर घर बनाएको छ । त्यस्ता घर पनि पालिकाहरूले भत्काउन सकेको छैन । जनप्रतिनिधिहरू केही नै गर्दैनन् ।
पछिल्लो समय बस्ती ह्वात्तै बढेको छ । सहर घरैघरले भरिपूर्ण छ । घनाबस्तीका बीच ग्याँसको डिपो राखिएको छ । पेट्रोल पम्प राखिएको छ । केही कारणवश आगलागी भइहाल्यो भने पालिकाहरूसँग दमकल पनि छैन । उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट काम लिएर आएका सर्वसाधारणहरू काठमाडौंमा एकछिन पनि बस्न नसक्ने बताउँछन् । प्रदूषणका कारण श्वास फेर्न गाह्रो हुने उनीहरूको भनाइ छ । माइतीघरदेखि तीनकुनेसम्म बाटोको बीचमा मसिना रुख छन् । नभए रुख देखिनै छाडिसकेको छ । कहीँ गएर बसिहालौं भने पनि खाली ठाउँ छैन । काठमाडौं उपत्यकामा घाम देखिन छोडिसकेको छ । अग्लो घर हुनेले छतमा बसेर घाम ताप्न पाउँछन् ।
अन्यलाई घामको मुख देख्न पनि गाह्रो छ । सडक विभागले सडक छेउमा पेट्रोल पम्प राख्न लाइसेन्स दियो । थोरै जग्गामा पेट्रोल पम्प सञ्चालन भएका छन् । पालिका र वडाले थोरै जग्गामा घर बनाउनलाई नक्सा पास गरिदियो ।
बाटोको छेउछाउ, पेट्रोल पम्पसँगै जोडिएका घरहरू बेच्नेको लर्को छ । तर, कसले किन्ने ? भोलि सरकारले सडक ठूलो बनायो भयो घर जान्छ । पेट्रोल पम्पको छेउ आगलागी हुने डरले अधिकांशले घर बेच्न खोजिरहेका छन् । भाडाका लागि सडकसँग जोडेर घर बनाइयो । अहिले त्यो घरले समस्यामा पारेको छ । सहर व्यवस्थित कसरी बनाउने ? दुर्घटना कसरी कम गर्ने ? प्रदूषण कसरी कम गर्ने ? सहरलाई कसरी हरियो बनाउने ? पालिकाहरूले योजना त बनाउनुपर्यो ।
मुलुकको राजधानी भनिएको छ, तर के आधारमा राजधानी भन्ने ? यस्तो अस्तव्यस्त र फोहोर ठाउँलाई सहर भनिन्छ ? जताततै कंक्रिट मात्र छ । हरियो रुखबिरुवा देखिनै छोडेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चार आना दुई पैसाभन्दा मुनि जग्गाको कित्ताकाट नहुने निर्णय भएको थियो । त्योभन्दा कम जग्गामा घर बनाउन नदिने भनेर २०७९ जठे ९ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । उनको सरकारले साढे दुई आना जग्गाको पनि कित्ताकाट हुने निर्णय गरेको छ । गत साउन ३० गतेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । थोरै जग्गामा पनि घर बनाउन पाउने भएपछि सहर झनै अस्तव्यस्त हुने भयो । घर बनाउनेहरूले न खाली जग्गा छोडेका छन्, न बाटोलाई जग्गा छोडेका छन् । बाटो मिचेर घर बनाइएको छ ।
भूकम्प आयो भने कहाँ गएर बस्ने ? आफ्नो घरमा खाली ठाउँ हुँदैन, सडकमा बस्ने अवस्था हुँदैन । घर भत्किएर सबै सडकमा आइहाल्छ । त्यतिबेला खुल्ला ठाउँ खोज्दै टुँडिखेल पुग्नुपर्छ । यस्तो पनि सहर हुन्छ ? बिनायोजना बसाइएको सहर घातक हुन सक्छ । अहिले अधिकांशको घरमा पार्किङ छैन । मोटरसाइकल सडकमा ल्याएर पार्किङ गरिएको पाइन्छ ।
अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने काठमाडौंलाई सहर भन्न मिल्दैन । काठमाडौं हेरी बाहिरका जिल्ला निकै सफासुग्घर र व्यवस्थित छ । जनप्रतिनिधिहरूले तलबभत्ता खाइरहेका छन्, तर काम गर्नतर्फ चासो देखाउँदैनन् । सहर सुन्दर र व्यवस्थित बनाउनु जनप्रतिनिधिहरूको दायित्व हो । यद्यपि जनप्रतिनिधिहरूले त्यो गर्न सकेनन् ।
राजधानीमा बस्ती बढेको छ, तर त्यसलाई कसरी व्यवस्थापन गर्ने ? जनप्रतिनिधिहरूसँग भिजन छैन ।
अझै पनि ख्यालख्याल गर्ने हो भने काठमाडौं उपत्यका झनै कुरूप बन्छ । विस्तारै उपत्यका खाली हुन बेर छैन् । किनकि प्रदूषणले उपत्यकामा बस्न नसकिने अवस्था बनेको छ । गाडीहरू धुँवाको मुस्लो फालेर गुडिरहेका हुन्छन् । वातावरण विभाग, यातायात व्यवस्था विभाग र पालिकाहरूले चेकजाँच गर्दैनन् । यस्तो ठाउँमा बसोबास गर्ने आमनागरिकले आफूलाई सुकिलामुकिला भन्न सुहाउँछ ?




